२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

उत्तर प्रदेशमा चट्याङ लागेर २४ जनाको मृत्यु

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • एजेन्सी- भारतको उत्तर प्रदेश राज्यमा चट्याङ लागेर बिहीबार ९एकैदिन० २४ जनाको मृत्यु भएको छ । भारी वर्षाका बीच परेको चट्याङका कारण २४ जनाको मृत्यु भएको र थुप्रै सर्वसाधारण घाइते भएका छन् । चट्याङ लागेर सयौं पशुपंक्षी समेत मरेका छन् ।

    उत्तर प्रदेशका राहात आयुक्त सञ्जय गोयलले बीबीसीसँग भने– आज चट्याङ लागेर उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको छ । मर्नेहरुको सबैभन्दा बढी संख्या देवरिया जिल्लामा रहेको छ । देवरिया जिल्लामा ९ जनाको मृत्यु भएको छ भने प्रयागराज जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

    त्यस्तै सिद्धार्थनगरमा ३ जना, कुशीनगरमा १ जनाको मृत्यु भएको छ । देवरिया जिल्लामा साँझ ४ बजेतिर कलेक्ट्रेट परिसरमा अचानक चट्याङ परेको थियो । अचानक परेको चट्याङका कारण त्यहाँका धेरै विद्युत उपकरण र कम्प्युटरहरु जलेर नष्ट भएका छन् ।

    एसडिएम सदर दिनेश मिश्रका अनुसार कार्यालयमा धेरै ठूलो क्षति भएको छ । त्यस्तै सिद्धार्थनगरको इटवा प्रहरी कार्यालय छेउमा परेको चट्याङका कारण २ बृद्धसहित ३ जनाको मृत्यु भएको छ । उनीहरु गाउँबाहिर खेतमा काम गरिरहेका थिए । मुसलधारे वर्षाका बीच परेको चट्याङका कारण काम गरिरहेका उनीहरुको तत्काल मृत्यु भएको थियो ।

    मुख्यमन्त्री योगी आदित्यनाथले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल ४ लाखका दरले राहात वितरण गर्न निर्देशन दिएका छन् । चट्याङको सबैभन्दा बढी असर गोरखपुर बस्ती डिभिजनमा परेको छ, जहाँ १२ जनाको मृत्यु भएको छ । त्यहाँ २० जनाभन्दा बढी व्यक्ति जलेर सख्त घाइते भएका छन् । चट्याङ पर्दा अधिकांश मानिसहरु खेतमा काम गर्न व्यस्त थिए ।

    बिहीबारनै बिहारमा पनि चट्याङ लागेर ८३ जनाको मृत्यु भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार र उत्तर प्रदेशमा चट्याङ लागेर सयौं व्यक्तिको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस