२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

जनार्दनले नटेर्दा खुमलटारमा खैलाबैला !

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले नयाँ मोड लिएको छ। समाधानको लागि अथक प्रयासमा जुटेका नेताहरूको पछिल्लो गतिविधिले नेता देखि कार्यकर्तासम्म तरंगित बनेका छन् ।

    पछिल्ला केहि दिनमा घटेका नाटकीय घटनाले पार्टी विभाजन टरेको नेताहरूले अनुमान गर्न थालेका छन् । तर यस्तो भैहाल्छ भन्ने यकिन भने भैसकेको छैन ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्नो समूहका नेताहरूसँग आन्तरिक छलफल र परामर्शमा जुटेका छन् । आजमात्रै अध्यक्ष प्रचण्डले पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए ।

    उक्त भेलामा दाहालले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेका थिए । भेलामा सहभागी नेताहरुले अब स्थायी कमिटी बैठक लम्ब्याउन नहुने र एउटा निश्कर्षमा पुग्न दाहाललाई सुझाव दिएका थिए ।

    प्रचण्डले बोलाएको उक्त भेलामा उनकै निकै निकट भनिएका प्रभावशाली नेता जनार्दन शर्मा समेत अनुपस्थित भएको खुलेको छ । बैठकमा उनीमात्र होइन गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट समेत उपस्थित भएनन् ।

    बादलले आफू अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले सोही समयमा आउन नसक्ने जानकारी गराएका थिए । मन्त्री भट्ट भने पछिल्लो समय दाहाल क्याम्पमा छैनन् । उनले खुलेरै अर्का अध्यक्ष ओलीलाई साथ दिने बताईसकेका छन् ।

    अर्का नेता शर्मापनि प्रचण्डले बोलाएको भेलामा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पछिल्लो समय दुई अध्यक्ष ओली र दाहाललाई मिलाउनको लागि नेता शर्माले सक्रिय भूमिका खेलिरहेका छन् ।

    शर्मा अनुपस्थित भएपछि केहि नेताहरूले शंकाको दृष्टिले हेरेका छन् भने पूर्वमाओवादी वृत्तमा उनको अनुपस्थितिले ठुलै चर्चा कमाएको  हिमाल पाेष्टले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस