२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

हेर्न लायक पाेकली झरना !

  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- पोकली झरनामा रमाउन आउने पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ । कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् । अहिले पाेकली उर्लिएकाे छ । धेरै टाढाबाटै अबलाेकन गर्न पनि सकिन्छ ।

    करिब ४ सय ३०  फिट अग्लो पोकली झरना देशकै अग्ला झरनामा पर्ने पर्यटकीय महत्व भएको प्राकृतिक सम्पदा हो । दुर्लभ जडीबुटीले भरिएको पर्वतको धुरीमा पर्ने गौरीवनबाट बगिआउने खोला लिखु गाउँपालिकाको पहराबाट खस्दा पोकली झरनाको आकर्षक दृश्य बनेको छ ।

    झरना नजिकै रहेको वनखण्डमा रिठे झाक्रीको गुफा, पचली भैरवको थान रहेको स्थानीय कथन छ । झरनादेखि केही माथि पहरामा भीरमौरी देखिन्छ । झरना आसपासमा चिभे धोबिनी चरीले गुँड लगाउने गर्दछन् । झरनादेखि केही तल पानीको प्रहारबाट बनेको नागदहमा नागको वास रहेको जनविश्वास छ ।

    झरना अवलोकनका लागि दिनहुँ १ सयभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय बताउँछन् । लिखु गाउँपालिका वडा नं ९ मा पर्ने पोकली झरनाको संरक्षण र संवद्र्धनका लागि समर्पित दुग्धेश्वर आमा समूहले स्वागत सत्कार गर्दै आएको छ । झरना नजिकको वस्तीमा घरवास वा होमस्टे सञ्चालनको तयारी भइरहेको छ ।

    झरनाको प्राकृतिक स्वरुप नबिगार्ने गरी आसपासमा शिव पार्वतीको मन्दिर बनाउने र झरनादेखि माथिको थुम्कामा बुद्धको मूर्ति बनाउने लिखुगाउँपालिकाको योजना भएकाे लिखु गाउँपालिकाकी उपाध्यक्ष शान्ता ढुंगेल बताउनुहुन्छ ।

    लिखु गाउँपालिका अध्यक्ष गाेविन्द पाैडेलका अनुसार खडेरीका बेलामा पनि झरना हेर्न सकिने गरी माथिल्लो खण्डमा ठूलो ताल बनाउने गरी झरनाको सम्पूर्ण विकासका गुरुयोजना बनिरहेको छ ।

    देशका सय गन्तव्यमा पर्ने पोकली झरनाको प्रचार प्रसार र प्रवर्धनका लागि गठित पोकली झरना सेवा समाजले बेला बेलामा अवलोकन भ्रमण, सांस्कृतिक मेला तथा महोत्सव गर्दै आएको छ । झरनासम्म पुग्नका लागि सडकको सहज पहुँच र पर्यटन विकासको पूर्वाधार विकास गर्न सकिएमा पोकली झरना ओखलढुंगाको मात्र नभइ मुलुककै महत्वपूर्ण गन्तव्य बन्ने देखिन्छ । जनता समाचारबाट

    प्रतिक्रिया दिनुहोस