२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ओखलढुंगाको पारामा बहिनीको रिसले छोराको हत्या

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– मान्छेले रिसको आवेगमा केसम्म गर्न सक्लान् ? मोबाइल वा भाँडाकुँडा फाल्न, कुटपीट गर्न वा झगडा मच्चाउन । तर, रिसको आवेशगमा आएर हत्या !  हाे, ओखलढुंगामा भने हत्या नै भएको छ । त्यो पनि आमाको रिसले नाबालक छोराको ।

    रिसका कारण आफ्नै बहिनीको ४ वर्षीया छोरा हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । मानेभञ्ज्याङ गाउँपालिका ४ घर भई सुनकोसी गाउँपालिका–६ पारास्थित माइतीघर बस्दै आएकी २८ वर्षीया जुनु दमाई पक्राउ परेकी हुन् ।

    जुनुमाथि आफ्नै बहिनीको ४ वर्षीय छोराको हत्या गरेको अभियोग छ । घरैमा मृत अवस्थामा भेटिएका छोराको शव उनैले देखाएपछि शंका गरेर उजुरी दर्ता भएको बताइएको छ । दिदी–बहिनीबीचको लामो समयदेखिको वादविवाद र पटक–पटक छोरो मारिदिने धम्की दिने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

    सिन्धुलीको फिक्कल गाउँपालिका १ सोखु घर भई माइती बस्दै आएकी सम्झना दर्जीका ४ वर्षीय छोरा भदौ २ गते मृत फेला परेका थिए । २ गते दिउँसोदेखि हराएका बालक मामाघरकै पसलकोठामा साँझ मृत फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

    मृतक बालकका हजुरबुवाले आफ्नै छोरीले नातिको हत्या भएको भनेर किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिं बस्नेतले बताए ।

    आरोपितलाई म्याद थप परि अनुसन्धान थालिएको र प्रारम्भिक अनुसन्धानमा बहिनीको रिसले उनका छोराको हत्या गरेको खुलेको बस्नेतले बताए ।

    प्रतिक्रिया दिनुहोस