२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

हाकिमकाे याैन शाेषण काण्ड: ‘पेश्की माग्दा शरीर मागे, धम्क्याउँदै यौन शोषण गरे !’

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • श्रीमानको दुर्घटनामा ज्यान गएपछि श्रीमतीले पोखराको हिमालयन आँखा अस्पतालमा जागिर पाइन् । आर्थिक अवस्था कमजोर भएकी ती महिलामाथि सोही अस्पतालका लेखा प्रमुखको आँखा लाग्यो । आर्थिक अभाव हुँदा अस्पतालको लेखा शाखामा ती महिलाले पेश्की माग्थिन् तर प्रमुखले अनेक सर्त राख्न थाले ।

    यौन इच्छा पूरा गर्न दिए अस्पतालबाट पेश्की मिलाइदिने भन्दै डर धम्कीमात्रै देखाएनन्, कोठामै पुगेर अभद्र व्यवहार गर्न लागेको ती महिलाको आरोप छ । आर्थिक हिसाबले कमजोर ती महिलाको लेखा प्रमुखका अघि केही जोर चलेन । यस्तै घटना ४/५ वर्ष चलिरहेको ती महिलाको आरोप छ ।

    अति भएपछि गत शुक्रबार ती महिलाले अस्पताल प्रशासनमा उजुरी दिइन् । अस्पतालका लेखा प्रमुखले डर, धम्की, प्रलोभन देखाएर यौन शोषण गरेको र घटना बाहिर ल्याए जागिर नै खाइदिने बताएको महिलाको आरोप थियो ।

    अस्पताल प्रशासनले लेखा प्रमुखलाई तत्काल निलम्वन गर्यो र अनुसन्धानको प्रक्रिया अगाडि बढायो । अस्पतालले मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनको संयोजकत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो । समितिले छानबिन गरी दोषी उपर कारबाही गर्ने र सत्यतथ्य बाहिर ल्याउने अस्पतालले बताएको थियो ।

    यसैबीच प्रहरीमा जाहेरी नदिन दबाब दिइएको र भित्रभित्रै मिलापत्र गराउन खोजिएको घटना सार्वजनिक भयो ।

    जब यो घटना बाहिर आयो, लेखा प्रमुखबाट यस्तै शोषणमा परेको भन्ने अरु महिला पनि थपिए । ३१ र ३७ वर्षीया महिलालाई बलात्कार आरोपमा प्रहरीमा जाहेरी नै पर्यो । अस्पतालबाट पेश्की माग्दा लेखा प्रमुख सुवेदीले अनेक बहाना बनाएर यौन शोषण गरेको महिलाहरुको आरोप छ ।

    ‘पेश्की माग्न जाँदा शरिर माग्थे, घरमै आएर मनपरी गरे । घटना बाहिर ल्याए जागिरै खाने धम्की दिन थाले,’ पीडित महिलाले भनिन्, ‘यसरी ४/५ वर्षसम्म शोषण गरिरहे । अति भएपछि उजुरी गरेकी हुँ । अझै पनि केही हुने हो कि मनमा डर छ ।’

    दुई महिलाले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले आरोपी लेखा प्रमुखलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । ‘पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौं,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले भने, ‘महिलाको मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढ्छ ।’ -अनलाइन खबर

    प्रतिक्रिया दिनुहोस