२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

गाउँका ‘पञ्च’हरुले प्रहरी भेट्न नदिएपछि बलात्कार पीडितद्वारा आत्महत्या

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • सप्तरी- जबरजस्ती करणी सम्बन्धी कसूरकी पीडितले सप्तरीमा आत्महत्या गरेकी छन् । गाउँमै बसेर पञ्चहरुले घटना मिलाउन दबाब दिएर प्रहरी भेट्न नदिएपछि डाकनेशवरी नगरपालिका–७ की १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेकी हुन् ।

    जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार प्रहरीले किशोरीको मृत्यु भएपछि मात्र घटनाबारे जानकारी पाएको थियो । लगत्तै घटनाबारे अनुसन्धान थालिएको उनको भनाइ छ । शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर पोष्टमार्टम गरिने उनले  बताएकाे अनलाइन खबरले लेखेकाे छ ।

    प्रहरीका अनुसार सोमबार बिहान ९ बजे धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । पीडितकी आमालाई उदृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएअनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् ।

    हाल प्रहरीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको छ । पञ्चहरुले आरोपीबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गराएको भनिएको छ । यस कार्यमा संलग्न अन्यको खोजी जारी रहेको एसपी धमलाले बताए ।

    प्रतिक्रिया दिनुहोस