२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
माेलुङ हाइड्राेका सुपरभाइजर मृत्यु प्रकरण

गल्ती स्वीकार्दै क्षतिपूर्ति दिने सहमति, किन चढाइयाे पाेलमा अप्राविधिक कर्मचारी ?

त्रुटी पहिल्याउन छानिवन समिति गठन

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- हाइड्रो पावरले ६ लाख क्षतिपूर्ति दिने सहमति पछि परिवारले शव बुझेका छन् । बुधबार मोलुङ हाइड्रोको विद्युत प्रशारण लाइनमा आएको समस्या समाधानका लागि पोलमा चढेका कर्मचारीको करेन्ट लागेर ज्यान गएपछि परिवारले शव बुझेका थिएनन् ।
    मोलुङ गाउँपालिका ३ स्थित हाइड्रोका सुपरभाइजर परनेश खत्रीको करेन्ट लागेर विद्युतको पोलमै मृत्य भएको थियो ।

    अप्राविधिक कर्मचारीलाई प्राविधिक काम लगाएको, विद्युत प्रशारण बन्द गरिएको भने पनि करेन्ट लागेर ज्यान गएको भन्दै मृतकका परिवार र आफन्तले कारवाही माग गर्दै प्रशासनमा उजुरी गरेका थिए ।

    दुई पक्षबीच भएको छलफलमा पीडित परिवारलाई क्रिया खर्च १ लाख र क्षतिपूर्ति पाँच लाख दिने सहमतिपछि परिवारले शव बुझेको छलफलमा सहभागी स्थानीय अर्जुन गिरिले बताए । हाइङ्रोले कमजोरी स्वीकार गर्दै क्षतिपूर्ति दिन तयार भएको, विद्युत प्रशारणमा भएको प्राविधिक त्रुटी पहिचान गर्न समिति गठन भएको र ८ वर्षसम्म मृतकका परिवारको भरण पोषणका लागि बार्षिक ५० हजार दिने सहमति भएको गिरिले जानकारी दिए ।
    अप्राविधिक कर्मचारीलाई प्रशारणलाईन मर्मत गराउन खटाउनु गम्भीर लापरवाही भएको स्थानीयको भनाइ छ । पटक पटक लापरवाही गर्नेमाथि कारवाही हुनु पर्ने स्थानीयकाे माग छ । यस अघि पनि पावर हाउस नजिकै करेन्ट लागेको एक स्थानीयको ज्यान गएको थियो ।

    विद्युत प्रशारणमा लाइनमा भएका त्रुटी पहिचान गरेर प्रतिवेदन पेश गर्न नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा समिति गठन गरेको र मृतकको बिमा वापत पाउने सुविधा परिवारलाई दिन प्रकृया अघि बढाउने निणर्य भएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए । हाइड्रोको पावर हाउस हेर्ने गरि उत्पादन केन्द ्रहेर्ने जिम्मेवारीमा रहेका कौशल तोलांगीले भने पटक पटक सम्पर्क गर्न खोजे पनि फोन उठाएनन् ।

    हाइड्राेका मालिक र उपल्ला कर्मचारीकाे चरम लापरवाही र दादागिरि बिगतदेखिनै चलेकाे भुक्तभाेगी बताउँछन् । यस अघि निर्माणकै चरणमा पनि संस्थागत शेयर दिने भन्दै माेलुङका सबै वडाबाट उठाइएकाे २ कराेड रकम समेत अहिलेसम्म कसरी कहाँ राखिएकाे छ सर्बसाधारणलाई पत्ताे छैन ।

    प्रतिक्रिया दिनुहोस