२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

मानेभञ्ज्याङ्गमा धमाधम मर्दै खसी बाख्रा

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ३ साल अघि
  • ‌ओखलढुङ्गाः जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाको तल्लो नदी तटीय क्षेत्रमा पशु चौपाय मर्ने समस्याले किसान मारमा परेका छन्। केही महिनायता सयौंको संख्यामा खसीबाख्रा र केही गाईगोरु समेत मरेको किसानको भनाइ छ।

    केही दिनको अन्तरमै लगालग १६ वटा बाख्रा मरेको हिलेपानीका विरास राईले बताए। आफूले पालेका १२ वटा बाख्रा मरेको मानेभन्ज्याङ गाउँपालिका ६, सोक्माटारका बिसन राईको भनाइ छ।

    गाउँघरमा अझै परम्परागत रुपमै पशुपालन गरिंदै आएको छ। किसानलाई पशु चौपायलाई प्रयोग गर्ने भ्याक्सिनको जानकारी राम्रो छैन। बिरामी भएका पशु चौपाया समेत समयमा चिकित्सक उपलब्ध नहुँदा मर्ने गरेका छन्। पशु बिमा सम्बन्धी जानकारी पनि दुर्गमका किसानसम्म पुग्न सकेको छैन।

    पशुलाई केही दिन पखाला लाग्ने र मर्ने गरेको किसान बताउँछन्। केही घण्टाकै अन्तरमा चारवटा बोका र बाख्रा मरेको मानेभन्ज्याङ गापा ५ का शुभराज राईले बताए। केही महिना यता हिलेपानी, सोक्माटार, उदयपुर, उंबु लगायतका गाउँहरुमा पशु मर्ने समस्या देखिएको हो।

    जण्डिस जस्तै देखिने रोगले आफ्नो हल गोरु नै मरेको मानेभन्ज्याङ गापा १ का भैरव राईको भनाइ छ। उनका अनुसार पशु चिकित्सक ल्याएर औषधी मुलो गरे पनि ठिक भएको छैन।  छ महिनादेखि फैलिएको रोग नियन्त्रणमा एक जना प्राविधिक खटाउने बाहेक अन्य कुनै काम गाउँपालिकाले नगरेको किसानको गुनासो छ।

    स्थानीय अनिलहाङ राईले किसानका पशु चौपाया सखाप भए पनि दीर्घकालीन समाधानका लागि गाउँपालिकाले कुनै योजना नबनाएको गुनासो गरे। उनले भने, ‘यो सुख्खा क्षेत्र हो, खेतीपाती हुँदैन। पशुपालन मुख्य पेशा भएकाले किसान समस्यामा छन्। गाउँपालिकाले भने कुनै योजना बनाएको छैन।’
    गाउँपालिकास्थित पशुसेवा शाखाका प्रमूख सियाराम यादवले भने बाख्रामा मात्र यो समस्या भएको र निदानको काम भइरहेको दावी गरे। ‘विगत छ महिनादेखि बाख्राहरुमा यो समस्या देखिएको हो। अहिले त नियन्त्रणमा आइसकेको छ’, यावदले भने, ‘हामीले नमुना संकलन गरी विराटनगस्थित प्रयोगशालामा पठाउँदा इन्ट्रो टक्सेनिया भन्यो तर त्यो समस्या होइन यो। हामीले एन्टी डाइरियाको इन्जेक्सन दिइसकेपछि लगभग नियन्त्रणमा आइसकेको छ।’

    यादवले यसको प्रमुख समस्या भनेको समयमा पिपिआरको भ्याक्सिन नलगाउनु रहेको बताए। यो रोग सरुवा भएको र खुल्ला ठाउँमा पशु चौपाय चराउँदा सर्ने भएकोले गाउँपालिका भरि नै फैलिएको हो।

    प्रतिक्रिया दिनुहोस