२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
बजेट पास गराउन माधव-खनाल पक्ष सहमत

यसरी जाेगियाे प्रदेश १ मा शेरधनकाे सरकार

  • २०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • नेकपा एमालेको एकल नेतृत्वको सरकार रहेको प्रदेश १ मा तत्काल नयाँ सत्ता समीकरणको सम्भावना टरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले तत्काल सरकारको विकल्प दिन नसक्ने देखिएसँगै मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारको आयु लम्बिएको हो ।

    केन्द्रमा विपक्षी दलहरुले प्रदेश १ को सन्दर्भमा नयाँ सत्ता समीकरणका लागि छलफल चलाइरहेकाले चाँडै नै प्रदेश सरकार परिवर्तन हुने अड्कलबाजी भइरहेको थियो । अहिलेको परिस्थितिमा सरकारको विकल्प दिने आधार तय भइनसकेको निष्कर्षसहित एमालेको खनाल–नेपाल पक्षले बजेट पास गराउने निर्णय गरेपछि केही समयका लागि सरकार परिवर्तनको सम्भावना टरेको हो ।

    त्यसैगरी विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दल पनि तत्काल सरकार परिवर्तनका लागि नयाँ परिस्थिति उत्पन्न हुने सम्भावना नरहेको बताउँछन् । एमाले एक ढिक्का रहेको अवस्थामा सरकार बहुमतमै रहने भएकाले विपक्षी गठबन्धन अविश्वासको प्रस्ताव सम्बन्धी प्रक्रिया अघि बढाउन पनि हच्किएको छ ।

    यद्यपि बजेट फेल गराएर सरकारलाई अप्ठ्यारोमा पार्ने उनीहरुको रणनीति थियो । तर एमालेको खनाल–नेपाल पक्ष बजेट पारित गराउने निष्कर्षमा पुगेका कारण विपक्षीहरूको उक्त उद्देश्य पनि पूरा नहुने भएको हो ।

    बजेट पास गराउनेदेखि लिएर सत्ता समीकरणको खेलमा प्रदेश १ मा एमालेको खनाल–नेपाल पक्ष निर्णायक हुने देखिन्छ । तत्काल नयाँ परिस्थिति सिर्जना भएको खण्डमा भने खनाल–नेपाल पक्षले शेरधन राई नेतृत्वको सरकारको विकल्प खोज्न सकिने बताउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस