२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

काेराेना संक्रमणबाट २ काे मृत्यु, सदरमुकामका बजारमा महामारीकाे जाेखिम

  • २०७८ श्रावण १७, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुङ्गाः देशभर कोरोना संक्रमणको दर बढिरहँदा जिल्लामा दैनिक संक्रमित थपिएका थपियै छन् । आइतबारमात्रै दुईजना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ११ र १२ का एक/एक जना पुरुषको ज्यान गएको हो ।

    त्यस्तै सदरमुकाम ओखलढुंगामा आइतबार १६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार २७ जनामा कोरोना संक्रमण देखिएको थियो । दैनिक कोरोना संक्रमण बढ्ने र मृत्यु समेत हुन थालेपछि सदरमुकाम बजार क्षेत्रका व्यवसायीले स्वस्फूर्त बजार बन्द गरेका छन् । खाद्यन्न तथा अन्य वस्तु कारोबार हुने पसल बन्द गरेका हुन् ।

    जिल्लामा ३ सय ३७ सक्रिय संक्रमित पुगेका छन् । घरघरै संक्रिमित भेटिन थालेकाले सुरक्षाका लागि बजार बन्द गर्न आवश्यक रहेको सिद्धिचरण १२ का युवा व्यवसायी सिजन श्रेष्ठले बताउनुभयो । वडा नं. १२ व्यवसायी आफैंले पसल बन्द गरेका छन् ।
    जिल्लामा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या सरकारी तथ्यांकमा ११ पुगेको छ । कोरोनाकै कारण अरु २ जनाको ज्यान गए पनि यो संख्या भने सरकारी निकायले मानेका छैनन् । मृत्यु हुनेको संख्या भने १३ छ ।

    लामो समयको निष्ोधाज्ञाका कारण व्यवसाय चौपट भएपछि साना तथा ठूला लगानीका व्यवसायीले पसल तथा होटलहरु निष्ोधाज्ञाको विचमा पनि शुरु गरेका थिए । पहिलो कुरा स्वास्थ्य सुरक्षा भएकाले सरकारी निकायले अनुगमन र नियमन प्रभावकारी रुपमा गर्नु पर्ने भएपनि त्यसो नहुँदा अहिले समस्या आएको व्यवसायीको गुनासो छ ।

    स्थानीय प्रशासनको कडाइका बीचमा पनि स्थानीय सरकार जिम्मेबार नबन्दा कोरोनाको ग्राफ बढेको उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के बताउनुहुन्छ । सिद्धिचरण नगरपालिकाकाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पनि कार्यालय सुचारु छ । बजारबासीले भने नगरपालिका र बजार क्षेत्र शिल गर्नु पर्ने बताएका छन् ।

    यसैबीच आइतबारबाट भेरोसेल खोप लगाउन शुरु गरिएको छ । जिल्लाका सबै नागरिकलाई खोप दिइनु पर्ने उपभोक्ता अधिकारकर्मीले माग गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस