२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

हत्या आरोपी दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

  • २०७८ भाद्र ५, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा, ५ भदौ- छुट्टाछुट्टै हत्या घटनाका दुई जना आरोपीविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले आरोपितहरुलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।

    साउन ३२ गते कुटपिटपछि आमाको मृत्यु भएको घटनाका आरोपित छोरा साङ्गे शेर्पा विरुद्ध पक्राउ गरि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । कुटपिटपछि गाउँपालिका वडा नं. ९ मा ५८ वर्षीया कमुनी शेर्पाको शंकास्पद मृत्यु भएको थियो ।

    शेर्पाको साउन ३२ गते राती लडेर मृत्यु भएको प्रहरीले सूचना पाएको थियो । घटनास्थलमा प्रहरी पुग्दा स्थानीयले कुटपिटबाट मृत्यु भएको बताएको र अवस्था शंकास्पद भएकाले शव पोष्टपार्टमपछि अनुसन्धान गर्दा छोराले कुटपिट गरेको स्वीकारेकाले मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

    स्थानीयका अनुसार लडेर मरेको परिवारकै सदस्यले जानकारी गराएपछि रितपूर्वक अन्त्यष्टि गर्ने तयारी गरेको र एक स्थानीयले अनुहार हेरौं भनेर अनुहारबाट कपडा लिकाल्दा अनुहारमा चोटैचोट देखेर प्रहरीलाई खबर गरिएको थियो ।

    त्यस्तै आपसी झडपमा गम्भीर घाइतेको मृत्यु भएपछि सिद्धिचरण नगरपालिका ५ का अर्का व्यक्ति विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । सिद्धिचरण नगरपालिका–५ चित्रका ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र ६३ वर्षीय आङगुबु शेर्पाबिच बाटोमा अपसी विवाद भइ कुटाकुट हुँदा पासाङको मृत्यु भएको थियो ।

    गत हप्ता भएको झगडामा दुबै जना गम्भीर घाइते भएका थिए । सामुदायिक मिसन अस्पतालमा उपचारको क्रममा पासाङको मृत्यु भएको हो । गम्भीर घाइते आङगुबु शेर्पाको अस्पतालमा उपचारपछि हाल हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । कुटपिटपछि मृत्यु भएकाले दुवै घटनाका आरोपित विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताए ।

    प्रतिक्रिया दिनुहोस