२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

क्या. यज्ञबहादुर थापालाई सहादतको ४३ वर्षपछि पदक

  • २०७८ आश्विन ४, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  सरकारले आईतबार घोषणा गरेको मान पदवी पाउनेहरुको नामावली साविकका वर्षहरु झैँ विवादरहित बन्न सकेन । त्यही सूचीको ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक पाउने १६ औं नम्बरका स्व. क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भईसकेको छ ।
    प्रजातन्त्रका सेनानी थापा २०३१ सालको टिम्बुरबोटे काण्डका कमाण्डर थिए । टिम्बुरबोटेबाट भाग्न सफल उनी केही दिनपछि हालको चिशंखुगढी गाउँपालिकामा पर्ने खानीभन्ज्याङ नजिकैको परालको कुन्युबाट पक्राउ परेका थिए । उनलाई तत्कालीन पञ्चायत शासकले काठमाडौंमा लगि ४ वर्ष जेल राखेका थिए ।
    त्यसपछि २०३५ सालमा बिराटनगर बम काण्डमा समातिएका भिमनारायण श्रेष्ठसँगै मृत्युदण्ड दिइएको थियो । उनीहरुलाई ठ्याक्कै कुन ठाउँमा मृत्युदण्ड दिइयो भन्ने यकिन नभएपनि कतिपयले कमला नदी किनारतिर ल्याएर मृत्युदण्ड दिएको बताउँछन् ।
    क्याप्टेन थापालाई नेपाल सरकारले २०७२ साल फागुनमा सहिद घोषणा गरेको थियो । मृत्यु भएको ३७ वर्षपछि शहिद घोषणा गरिएको थापालाई मरणोपरान्त ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक दिने सरकारको निर्णयले सहिदको सम्मान भएको राजनीतिकर्मीहरुको भनाई छ ।
    शुरुमा नेपाली सेनाकै क्याप्टेन रहेका थापा पछि नेपाली काँग्रेसको पञ्चायत विरोधी आन्दोलनमा समाहित भएका थिए । उनको कान्छी श्रीमति अझै जिवित छन् ।

    प्रतिक्रिया दिनुहोस