२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
ओखलढुंगामा कांग्रेस अधिवेशन:

आठै तहका सभापति संस्थापन खेमाका, कुन तहमा काे चुनिए ?

  • २०७८ आश्विन १०, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत ओखलढुंगाका ८ स्थानीय तहमा निर्वाचन सकिएको छ । आठमध्ये ३ तहमा निर्वाचन र पाँच तहमा सहमतिमा नेतृत्व चयन भएको हो ।

    शनिबार तीन तहमा निर्वाचन र तीन तहमा सहमतिमा नेतृत्व चयन भएको थियो । आइतबार दुई तहमा लामो रस्साकस्सीपछि सहमतिमा नेतृत्व चयन गरिएको नेपाली काँग्रेसले जनाएको छ । सुनकोसीमा शनिबारदेखि भएको सहमतिको प्रयास आइतबार टुंगिएको छ ।

    त्यस्तै मानेभञ्ज्याङ गाउँपालिकामा विवादका कारण शनिबार स्थगित अधिवेशन आइतबार सहमतिमा नेतृत्व चयन गरेर सकिएको छ । योसँगै जिल्लाका आठै स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन भएको छ । सबै तहमा नेतृत्व चयन सकिएको जिल्ला सभापति प्रदिपकुमार सुनुवारले जानकारी दिए ।

    सबै तहमा संस्थापन हावी

    निर्वाचन र सहमति दुवै प्रकृयाबाट चयन भएको नेतृत्वमा संस्थापन हावी भएको छ । आठै स्थानीय तहका सभापतिसहितका पदाधिकारी संस्थापन पक्षका छन् । सिद्धिचरण नगरपालिकामा प्रेमराज गुरुङसहित अधिकांश पदाधिकारी संस्थापक्षका हुन् ।

    उनका प्रतिद्वन्द्वी निबन्द श्रेष्ठलाई कोइराला पौडेल पक्षले समर्थन गरेको थियो । उनलाई युवा नेता रामहरि खतिवडाको समेत समर्थन रहेको बताइन्छ ।

    त्यस्तै चिशंखुगढी गाउँपालिकामा गोपालमान थापा, मोलुङमा गोपी कार्की निर्वाचित भएका छन् । खिजीदेम्वामा रामकुमार सुनुवार, लिखुमा कुमारराज सुवेदी, चम्पादेवीमा विष्णु पुलामी सहमतिमा चयन भए ।

    त्यस्तै सुनकोसीमा विष्णु खड्का, मानेभञ्ज्याङ गाउँपालिकामा देवबहादुर पुलामी सभापतिमा चयन भएका छन् । सहमतिमा चयन भएका पाँच तह र निर्वाचित गरि जिल्लाका सबै ८ तहका सभापति संस्थापन पक्षका हुन् । सबैजसो सभापति जिल्ला सभापति प्रदिप सुनुवार निकट हुन् ।
    जिल्लामा निर्वाचन सकिएपछि नेता रामहरि खतिवडाले संस्थापन पक्षले क्लिन स्वीप गरेको दावी गरे । उनले भने, ‘प्रदिप सुनुवार र रामहरि मिल्दा के हुन्छ भनेर देखिएको छ ।’ उनले साविक आफ्नाे पुरानाे निर्वाचन क्षेत्रका सबै तहमा आफ्नाे पहलमा सर्वसम्मत नेतृत्व चयन गरेकाे दाबी गरे ।

    दुई कार्यकाल जिल्ला सभापतिमा निर्वाचित प्रदिप सुनुवारको नेतृत्वमा देउवा पक्षीय नेता कार्यकर्ता सबै स्थानीय तहमा निर्वाचित भएका छन् । यस अघि जिल्लामा कोइराला पक्ष हावी थियो ।

    प्रतिक्रिया दिनुहोस