२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

स्वास्थ्य हाकिमले बिदाको दिन अक्सिनज कन्सन्ट्रेटर गाडीमा हालेपछि ……

  • २०७८ पौष ४, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- शनिबार नियमित बिदा, आईतबार उधौंलीको सार्वजनिक बिदा थियो । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमूख अहमद मन्सुरी शनिबार साँझ पनि कार्यालय पुगे । उनले आफैले स्टोरमा राखेको अक्सिजन कन्सन्ट्रेटर दुईवटा झिके । गाडी खोलेर गाडीमा हाले । त्यो कुरा स्वास्थ्य कार्यालयसँगै जोडिएका स्थानीयले थाहा पाए । तुरुन्तै प्रहरीलाई खबर गरे ।

    प्रहरीले गाडी चालक युवराज कोइराला, स्वास्थ्य प्रमूख मन्सुरी र गाडीलाई प्रहरी चौकी रुम्जाटार लग्यो । त्यहाँबाट जिल्ला प्रहरी कार्यालय बोलाइयो । शनिबार राती मन्सुरीलाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछ गरियो । त्यसपछि चालक कोइराला र मन्सुरी फर्किए । गाडी र गाडीभित्र राखिएको अक्सिजन कन्सन्ट्रेटर भने प्रहरीमै राखियो ।

    मन्सुरीलाई लागेको आरोप थियो, ‘उनले अक्सिजन कन्सन्ट्रेटर बेच्न भनेर विराटनगर लान लागेका हुन् ।’ संयोग उनी सोमबार विराटनगर जाने काम पनि थियो । तर शनिबार र आईतबार दुवै दिन छुट्टी भएकै बेला उनले किन अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ नै गाडीमा राखे ?

    स्थानीयले प्रमूख मन्सुरीलाई शंका गर्ने आधार रहेको बताएका छन् । स्टोर किपर बिना आफै सामान झिकेर गाडीमा राख्नु, सामान हस्तान्तरणको लागि गरिने कुनै कागजात नबनाई छुट्टीको दिन साँझमा गाडीमा लोड गरिनुमा शंका गर्ने आधार रहेको बताए ।

    आईतबार बिहान १० बजे प्रहरी कार्यालयले सप्ताहव्यापी ट्राफिक सम्बन्धि चेतना कार्यक्रम आयोजना गरेको थियो । ‘आईतबार बिहान प्रहरीको कार्यक्रममा पनि जाने, नगरपालिकाको स्वास्थ्य शाखाका लागि अक्सिजन कन्सन्ट्रेटर दिने भनेर बेलुकी नै ाडीमा राखेको हो भनेर मन्सुरीले भनेपछि हामीले राती उनलाई छोड्यौँ ।’ डिएसपी काफ्लेले भने, ‘नगरपालिकाको स्वास्थ्य प्रमूखसँग बुझ्दा उनले माग गरेको हो भन्ने जानकारी पाइएको छ । सूचना दिने र अन्य पक्षलाई सँगै राखेर वास्तविकता बुझ्ने काम भईरहेको छ ।’

    स्वास्थ्य कार्यालय प्रमूख मन्सुरीले आफूले अक्सिजन कन्सन्ट्रेटर कुनै गलत नियतले नराखेको बताए । ‘नगरपालिकाको स्वास्थ्य प्रमूख पवन लामाले मगाउनु भएको थियो । भोली सदरमुकाम लैजाँदा लगिदिउँ भनेर गाडीमा राखेको मात्र हो ।’ मन्सुरीले भने, ‘दाताको ट्याग लागेको उपकरण कहाँ लगेर बेच्नु र ? फेरी यो जहाँ पायो त्यहाँ कस्ले किन्छ होला त ? यस्तो नियत हुँदै होइन ।’

    प्रहरीले नियन्त्रणमा लिएकाे अक्सिजन कन्सन्ट्रेटर ।

    स्थानीयले प्रमूख मन्सुरीलाई शंका गर्ने आधार रहेको बताएका छन् । स्टोर किपर बिना आफै सामान झिकेर गाडीमा राख्नु, सामान हस्तान्तरणको लागि गरिने कुनै कागजात नबनाई छुट्टीको दिन साँझमा गाडीमा लोड गरिनुमा शंका गर्ने आधार रहेको बताए । नगरपालिकाको स्वास्थ्य शाखा प्रमूख पवन लामाले आफूले केही दिन अघि औषधी लिन जाने क्रममा अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता रहेको मन्सुरीलाई बताएका थिए ।

    ‘मैले अक्सिजन कन्सन्ट्रेटर माग गरेको चाहीँ हो ।’ लामाले भने, ‘तर माग फाराम भर्ने, हस्तान्तरणको कागज बनाउने र कहिले दिने भन्ने सम्मको कुरा चाहीँ भएको थिएन । अब हिजो गाडीमा हालेको अक्सिजन कन्सन्ट्रेटर हामीलाई दिनकै लागि थियो वा थिएन भनेर मैले भन्न सकिँन ।’

    केही दिन अघि मन्सुरीले आफू भन्दा माथ्लो तहको कार्यालय प्रमूख आउँदा हाजिर गर्न नदिई रमाना दिएर पठाएको आरोप समेत लागेको थियो । रुम्जाटारमा दुई दशक बिताईसकेका उनको क्लिनिक, होटल लगायतका व्यवसाय छ । राजनीतिक आडमा कार्यलय प्रमूख बनेको कारण पनि उनीमाथी शंका गरिएको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस