२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

खिजीमा जसपाकाे कमाल: एमाले पत्तासाफ, भत्कियाे कांग्रेसकाे गढ !

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी भएका छन् । नेपाली कांग्रेसको गढ मानिएकाे  खिजीदेम्बामा जनता समाजवादीका उम्मेदवार शेर्पाले कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरे । शेर्पाले २८८२ मत ल्याएर विजयी भए ।

    कांग्रेसका बस्नेतले २७५२ मत पाए । एमालेका रामबहादुर खत्रीले १७१५ मत ल्याएर तेस्राे भए । उपाध्यक्षमा कांग्रेसकी सुशिला तामाङ विजयी भएकी छिन् । उनले २८२४ मत ल्याउँदा जसपाले २२४१ र एमालेले उपाध्यक्षमा १७१५ मत पाएकाे छ ।

    यस अघि खिजीदेम्बा नेपाली कांग्रेसको गढ थियाे । याे कांग्रेसका पूर्व जिल्ला सभापति महेश कोर्मोचा र केन्द्रिय सदस्य प्रदीप सुनुवारको क्षेत्र हाे ।  २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित बहुमत सिट कांग्रेसले जितेको थियो ।

    हाल ९ वटा वडा रहेको खिजीदेम्बाका ७ वडा कांग्रेस र २ वटा वडा जसपाले जितेको छ । कांग्रेसबाट वडा नम्बर २ मा सुरेन्द्रशंकर घिमिरे, ३ मा टंकराज सुनुवार, ४ मा होमबहादुर सुनुवार, ५ मा राम सुनुवार, ७ मा डिल्लीराम बस्नेत, ८ मा नगेन्द्र बस्नेत र वडानम्बर ९ मा ङ्वाङफुरी शेर्पा विजयी भएका छन् ।

    जसपाबाट वडानम्बर १ मा कुमार सुनुवार र ६ मा पासाङनिमा शेर्पाको प्यानल विजयी भए । अधिकांश वडा जितेपनि कांग्रेसले प्रमुखमा भने पराजय व्यहाेरेकाे छ ।

    एमाले पत्तासाफ

    २०७४ काे निर्वाचनमा एमालेले ४ वडा जितेकाे एमाले याे पटक पत्तासाफ भएकाे छ । एमाले जिल्ला सचिव कमल न्याैपाने, प्रदेश सदस्य सुदिप सुनुवार तथा पालिका अध्यक्षका उम्मेदवार रामबहादुर खत्रीका वडा समेत गुमाएकाे एमालेले   १ वडा सदस्सया सदस्यमा चित्त बुझाउनु परेकाे छ ।

    अहिले वडा नम्बर २ मा १ सदस्य भने जित्न सकेकाे छ । २०७४ को निर्वाचनमा एमालेले ४ वटा वडा अध्यक्षसहित १७ पदाधिकारी जितेको थियो । एमालेभित्रकाे गुटबन्दी र अन्तर्घातका कारण एमाले दाेस्राेबाट तेस्राे शक्तिमा पुगेकाे छ । २०७४ पनि अन्तरघातकै कारण एमाले पराजित भएकाे थियाे ।

    जसपा भने डेढ वर्षमा पहिलाे शक्तिका रुपमा उदाउन सफल भएकाे छ  । विगत १८ महिनादेखि  निरन्तर संगठनकाे काम  गरेका जसपाका  शेर्पाले पुराना र ठुला दलहरुलाई पराजित गरेर जसपालाई स्थापित गर्न सफल भएका छन् ।

    प्रतिक्रिया दिनुहोस