२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

मोरङ कारागारमा कोरोना

  • २०७९ अषाढ ३१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • विराटनगर-  ज्वरोको प्रकोप देखिएको जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ।

    अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदी बन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो। कोसी अस्पतालमा उपचाररत रहेकाको शुक्रबार बिहान एन्टिजेन परीक्षण गरिएको थियो।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले अत्यधिक ज्वरो आएर उपचाररत रहेका कैदी बन्दीको एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।

    एन्टिजेन रिपोर्ट पोजिटिभ आएको र थप यकिन गर्नलाई पीसीआर परीक्षणको तयारी भइरहेको उनले बताए। डा. खरेलका अनुसार अत्यधिक ज्वरो आएपछि १८ जना कैदी बन्दीलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

    ‘१८ जनामध्ये १६ जनाको एन्टिजेन पोजिटिभ आएको हो। २ जनाको नेगेटिभ आयो,’ उनले भने, ‘सबै बिरामीलाई थप उपचारका लागि तत्काल कोसी कोभिड अस्पताल रेफर गरिने छ। थप पुष्टिका लागि सबैको पीसीआर परीक्षणको तयारी भइरहेको छ।’

    संक्रमितको उपचारमा पनि कोसी अस्पतालकै जनशक्ति परिचालन गरिने उनले बताए। डा. खरेलका अनुसार प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरेर संक्रमितको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाइने छ।

    प्रतिक्रिया दिनुहोस