२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
उम्मेदवारकाे व्यस्तता

तिहार लगत्तै उम्मेदवारकाे दाैडधुप, मतदाता भेट्न घरदेखि मेलासम्म

  • २०७९ कार्तिक १३, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारहरुलाई अहिले मतदाता र गाउँका कार्यकर्ता भेट्नै फुर्सद छैन । तिहार लगत्तै उनीहरु घरदेखि मेलापातसम्मै मतदाता भेटेर मत माग्न व्यस्त छन् ।

    प्रतिनिधी सभाका प्रमुख प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार चुनावी मैदानमा छन् । उनीहरुलाई जिल्लाका ७५ वटै वडा र कतिपय गाउँमा पुग्नु पर्ने बाध्यता छ । उनीहरुभन्दा प्रदेश सभाका उम्मेदवारलाई कम धपेडी छ । एकै दिन ३ वटा सम्म वडाका कार्यक्रम भ्याउनु पर्नेछ ।

    शनिबार गठबन्धनका उम्मेदवारहरु खतिवडा र प्रदेश सभामा क्षेत्र नं २ का उम्मेदवार बाबुराम गाैतमले सुनकाेसीकाे सिस्नेरी र मूलखर्कका ३ वटा कार्यक्रम भ्याए । आइतबार च्यानम र कटुञ्जेका वडामा कार्यकर्ता र मतदाता भेट गर्दैछन् । ७५ वडा र केही ठूला सभाहरु पनि भ्याउनु पर्ने हुँदा निकै व्यस्त छु खतिवडाले नागरिक मिडियासँग भने ।

    एमालेकाे तर्फबाट संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवार प्रदेश सभाकाे क्षेत्र नं २ का उम्मेदवार ज्नञाबहादुर खड्का (जिवी) सहित सुनकाेसीकाे बलखुमा मतदाता भेट्न खेतमै पुगे । उनले सुनकाेसीहुँदै माेलुङ १, सिद्धिचरण ११ र चिशंखुगढीकाे ८ नम्बरमा कार्यकर्ता र मतदातासँग ३ वटा भेटघाट कार्यक्रम भ्याए ।

    ‘सकेसम्म सबै ठाउँ पुग्न दाैडधूप गरिरहेकाे छु मतदाताले विश्वास  र हाैसला उत्तिकै बढाउनु भएकाे छ’ सुनुवारले भने । प्रचारकाे अवधि कम भएकाले अन्तरिक बैठक र भेटघाट अहिले चलिरहेकाे छ ।

    कात्तिक १५ पछि मात्रै सभाहरु आयाेजना भएकाले अहिले सानाे तहमा छलफल चलिरहेकाे काँग्रेस जिल्ला कार्य समिति सदस्य हुकुम राईले बताए ।

    प्रदेश सभा क्षेत्र नं १ तर्फ गठबन्धनका प्रदिपकुमार सुनुवार र एमालेका अम्बीरबाबु गुरुङ पनि दाैडधूपमा छन् । सुनुवार सिद्धिचरण नगरपालिका ४ र ५ मा घरदैलाेमा छन् भने गुरुङ चिशंखुगढी पुगेका छन् । उम्मेदवाहरुलाई निकै दाैडधूप देखिए पनि मतदाता भने बाली भित्रयाउने चटाराेमा देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस