२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

अग्रज नेता र योद्धाहरुको आशीर्वाद लिएर मतदाता भेट्न गाउँमा

  • २०७९ कार्तिक १३, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जिल्लाका पहिलो पुस्ताका अग्रज नेता तथा लोकतान्त्रिक योद्धाहरुको आशीर्वाद लिएर मतदाता भेट्न गाउँ पसेका छन् ।

    काठमाडौंमा रहेका जिल्लाका पुरानो पुस्ताका अग्रजहरुलाई भेटेर उनी चुनावी अभियानका लागि गाउँ पसेका हुन् । सुनुवारले जिल्लाको पहिलो पुस्ताका कम्युनिष्ट नेता लोककृष्ण भट्टराई, नेपाली कांग्रेस ओखलढुंगाका पुराना नेता तथा पूर्वसभापति महेश कोर्मोचा, जिल्ला पञ्चायतका पूर्वसभापति तथा कांग्रेसका पुराना नेता खिलनाथ अधिकारीलगायतालाई भेटेर आशीर्वाद लिएका हुन् ।

    उनले ओखलढुंगा घर भएका नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवाल, माओवादी केन्द्रका अनुशासन आयोग अध्यक्षसमेत रहेका एमाले ओखलढुंगाका संस्थापकमध्येका एक नेता पेशल खतिवडालगायतसँग पनि आफूले भेटेर आशीर्वाद लिएको सुनुवारले बताए ।

    उनले राष्ट्रियगानका रचयिता ब्याकुल माइलालगायत ओखलढुंगे सर्जकहरुसँग पनि भेट गरेका छन् । जिल्लामा मतदाताबीच जानुअघि अग्रजहरुसँग सल्लाह, सुझाव र प्रेरणा लिएको उनको भनाइ छ । ओखलढुंगामा सुनुवार र कांग्रेस नेता रामहरि खतिवडा दोस्रोपटक चुनावी मैदानमा आमनेसामने छन् ।

    प्रदेशमा एमालेबाट क्षेत्र नम्बर १ मा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ र कांग्रेसबाट केन्द्रीय सदस्य प्रदीप सुनुवार भिड्दैछन् । प्रदेशसभा २ मा गठबन्धनबाट माओवादीका बाबुराम गौतम र एमालेका जीबी खड्का भिड्दैछन् ।

    प्रतिक्रिया दिनुहोस