२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

‘समृद्धि’ले दिएको समृद्धिः समूह सदस्यबाट कृषि फार्मका मालिक !

  • २०७९ फागुन १३, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नमुना बाख्रापालन समूहमा आबद्ध किसान समूह सदस्य हुँदै फर्म सञ्चालक बन्न सफल भएका छन् । समृद्धि आयोजनाको सहजीकरणमा स्थानीय रमेशकुमार धमलाले समृद्धि बाख्रा फर्म र बुद्धीकादेवी धमलाले आइतबारे बाख्रा फर्म सञ्चालन थालेका हुन् ।

    सो समूहमा आबद्ध अन्य आधा दर्जन बढी किसान व्यवसायिक बन्दै व्यक्तिगत फर्म सञ्चालन गर्ने अवस्थामा पुुगेको समृद्धि आयोजनाले जनाएको छ । सिद्धिचरण नगरपालिका १० को बेतिनीका बाख्रापालक किसानले सामुहिक बजारीकरण गरेर खसीबोका बिक्री सुरुवात गरेका छन् ।

    उद्योग मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्राविधिक तथा आर्थिक सहयोगमा नमुना बाख्रापालन समुहमा आबद्ध २८ घरधुरीले जिल्लामै पहिलोपटक सामुहिक बजारीकरण गरेर बिक्री सुरुवात गरेका हुन् ।

    सामुहिक बजारीकरण गर्दा खसीबोका बिक्री गर्न सजिलो हुने र व्यापारीले समेत घरघर डुलेर किन्नुपर्ने बाध्यता अन्त्य हुने भएकाले सामुहिक बजारीकरण सुरुवात गरिएको समुहका अध्यक्ष घनश्याम बाँस्तोलाले बताए ।

    सामुहिक बजारीकरण गर्दा व्यापारीले मूल्य समेत बढी दिने र खसीबोका समेत जिउँदै जोखेर व्यापारीले कारोबार गर्ने किसान समुहको भनाइ छ । ‘किसान समूहले एकैठाउँबाट एक गाडी खसीबोका दिने हिसाबले काम थालेका हौँ,’ समूहका अध्यक्ष बाँस्तोलाले भने,  ‘यसो गर्दा किसानलाई पनि फाइदा, व्यापारीलाई पनि फाइदा हुने भयो ।’

    यहाँका किसान समूहले सामुहिक बजारीकरण गर्दा खसीबोका जिउँदै जोखेर मात्रै कारोबार गर्ने निणर्य गरेका छन् । यही समूहबाट २ वर्षअघि जिल्लामै पहिलोपटक खसीबोका जिउँदै जोखेर किनबेच सुुरुवात गरिएको थियो । अहिले सामुहिक बजारीकरण पनि जिल्लामै पहिलोपटक यहीबाट सुरुवात भएको हो ।

    बेतिनी गाउँमा खसीबोका जिउँदै जोख्दा ४ सय ८० रुपैयाँ प्रतिकेजी मूल्य रहेको छ । तर किसान समूहले एकमुुष्ट खसीबोका व्यापारीलाई उपलब्ध गराउँदा ५ सय रुपैयाँ प्रतिकेजी कारोबार हुन थालेको छ । ‘समूहमा शक्ति हुन्छ भन्ने सुनेकी थिएँ, तर अहिले हामीले सामुुहिक बजारीकरण गरेर खसीबोका बिक्री गर्दा निकै फाइदा भयो,’ समूहकी सदस्य बुद्धीकादेवी धमलाले खुसी हुँदै भनिन्, ‘व्यापारी घरमा आएर १४ हजारमा मागेको खसी सामुुहिक बजारीकरण गर्दा १६ हजार ५ सय रुपैयाँ पाएँ ।’

    सामुहिक बजारीकरण गरेर बिक्री गर्दा खसीबोका बिक्रीमा समेत कुनै समस्या नहुने किसानहरु बताउँछन् । उत्पादन किसानलाई बिक्रीमा कुनै समस्या नहुने हुँदा अन्य किसान समूहले पनि विस्तारै सामुहिक बजारीकरण अवधारण अपनाउँदै जानुपर्ने र नगरपालिकाले पनि यस्ता क्रियाकलापमा जोड दिने सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजन खनालले बताए ।

    प्रतिक्रिया दिनुहोस