२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024
कुरा समृद्धिका

विकास बहसः यसरी बन्न सक्छ समृद्ध चिशङ्खुगढी

  • २०८१ अषाढ ४, मंगलबार मा प्रकाशित १ महिना अघि
  • यतिबेला स्थानीय सरकारहरु बजेट ल्याउने तयारीमा छन् । नीति तथा कार्यक्रम पालिकाको बार्षिक मार्गचित्र हो भने बजेट त्यसलाई कार्यन्वयन गर्ने औजार हो । वडाबाट छनौट भएका योजनाहरु समेटेर विषयगत समितिहरुबाट अन्तिम रुप दिएपछि योजनाका रुपमा बजेटमा समावेश हुने विषय हेरेपछि पालिकाको बार्षिक योजना र कस्तो नीति रहेछ भन्ने थाहा लाग्छ ।

    स्थानीय सरकारले नीति तथा कार्यक्रम लेख्न अल्छि गरिरहेका छन् । धेरैजसो विगतको कपी पेष्टमै सिमित छन् । त्यसका उदाहरणहरु मसँग सुरक्षित छन् । नीति कार्यक्रममै यो पंक्तिकारले अघिल्लो साल र पालिकाको नाम समेत अर्कौ लेखेर प्रकाशन समेत गरेको फेला पारेका प्रमाण सुरक्षित छन् ।

    यसले के देखाएको छ भने नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै छ, औपचारिकताका लागि आउँछ भन्नेमा दुईमत छैन । संघीय सरकार सन् २०३० मा दिगो विकास लक्ष्यका १७ उद्देश्यहरु पुरा गर्ने दातासामू कबूल गर्छ, पालिकामा दिगो विकास लक्ष्यका प्रथामिकताबारे जानकारी हुँदैन । यो आम पालिकाहरुको हबिगत हो ।

    यस आलेखमा यो विषयमा छोडेर यस बर्ष स्थानीय सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटले पालिकालाई कसरी समृद्ध बनाउँन सक्छ भन्ने विषयमा छलफल हुनेछ । त्यसमा पनि पूर्वी पहाडको ओखलढुङ्गाको एक स्थानीय तह चिशङ्खुगढी गाउँपालिकाले कस्ता नीति र बजेट ल्याउनुपर्छ भन्ने एजेण्डा स्थानीय सरकारलाई सुनाउनु हो । यस विगषयमा सङ्क्षेपमा चर्चा गर्नु उपयुक्त हुन्छ ।

    विषय प्रवेश नाराबाटै गरौं । पालिकाले २५ वर्षे भिजनलाई नारा बनाएको छ । त्यो हो ‘कृषि, पर्यटन र दिगो पूर्वाधारः समृद्ध चिशङ्खुगढीको बलियो आधार’ । यो नारालाई साकार पार्न यसका जगबाटै काम शुरु गर्नुपर्छ ।

    कृषि र आवाश

    हामी भन्नलाई कृषि प्रधान देशका नागरिक भने पनि देश कृषक प्रधान भइसकेको छ । पेश कृषि लेखेर जागिर खाने, विदेशिने र माटो नछुनेको संख्या ५० प्रतिशत बढी भइसक्यो । कुनै सर्भेक्षण गर्न गयो, शिक्षक र कर्मचारी सबैले पेशा कृषि लेखाउँछन्, तर खेति गर्दैनन् । कुँडार बाँझै छन्, तरकारी बजारबाट ल्याउँछन् ।

    कृषि क्षेत्रलाई व्यवस्थित गर्न जग्गा वर्गिकरण गरेर आवासयोग्य, खेतियोग्य र वन क्षेत्र पहिचान गर्नु पर्छ । आवाशयोग्यमा वस्ती विकास तथा स्थानान्तरणका योजना बनाउनु पर्छ । यसले सुरक्षित वस्तीको विकास, स्वास्थ्य शिक्षाको व्यवस्थापनका साथै कृषि भूमिको सुरक्षा हुन्छ । कृषिमा प्राेत्साहन गर्न उत्पादन र निकासीको मूल्यांकनका आधारमा किसानलाई घरैमा अनुदान दिने कार्यविधी बनाएर कार्यन्वयन गर्नुपर्छ ।

    किसानका नाममा विरुवा र विउ तथा अनुदान हचुवामा बाँडिनु हुँदैन । विगत ७ बर्षमा पालिकाले बाँडेका सबै विरुवा रोपिएका वा आधा मात्रै हुर्किएका भए चिशङ्खुगढीका सबै जग्गामा फलफूल भरिएका हुन्थे ।

    कृषिमा प्राेत्साहन गर्न उत्पादन र निकासीको मूल्यांकनका आधारमा किसानलाई घरैमा अनुदान दिने कार्यविधी बनाएर कार्यन्वयन गर्नुपर्छ ।

    सामुदिायक वन समुहलाई परिचालन गर्ने नीति ल्याउनु पर्छ । अनुत्पादनक वन क्षेत्रमा स्कूस, अम्वा, आँप, केराजस्ता ठाउँ अनुसारका फलफूल रोपेर हुर्काउनु पर्छ । विस्कुट बोकेर आउने गाडीमा स्कूस, केरा र आँप निकासी गर्न सकिन्छ । केही भएन भने बाँदरलाई वन क्षेत्रमै रोक्न सकिन्छ, जसले बाली संरक्षण हुन्छ ।

    बाँझा करेसा र कुँडारहरुमा आँप र अनार रोप्ने  अभियान ल्याउनुपर्छ । यसले फलफुलको उत्पादन बढेपछि कम्तिमा सन्तुलित आहारको व्यवस्थापनमा सहजता ल्याउँछ । यसले स्वस्थ बन्न सकिन्छ । यस्ता काम गर्ने परिवारलाई सम्मान र पुरस्कार दिने नीति ल्याउनुपर्छ र व्यापक जनचेताना विकासमा ध्यान दिनुपर्छ । यसले प्रतिभा पालयनलाई रोक्न मद्दत गर्छ ।

    नगदेवाली उत्पादनलाई जोड दिने कार्यक्रम ल्याउनु पर्छ । कृषकलाई बजारसँग जोड्न मोवाइल कृषि एम्बुलेन्स सञ्चालन गरेर सानो सानो परिमाणको उत्पादन बजारमा पुर्याउन सहजिकरण गर्नुपर्छ ।

    वन क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेर बर्षाद्को पानी जम्मा गर्ने कार्यक्रम ल्याउनु पर्छ । यसले वन क्षेत्र हरियाली हुनुका साथै पानीका मुहान संरक्षण हुने र पानीका मुलहरु पलाउने परिस्थिति बन्छ ।

    स्वास्थ्य र शिक्षा

    पालिकामा विशेषज्ञसहितको निशुल्क स्वास्थ्य सेवा दिन अस्पतालको स्तरोन्नतिको काम थाल्नु पर्छ । सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क पाउनु पर्ने सबै औषधि र स्वास्थ्यकर्मीको नियमितता सुनिश्चित गर्नुपर्छ । दिर्घ र नसर्ने प्राणघातक रोगको उपचार गर्न नसक्ने नागरिकको उपचारका लागि स्वास्थ्योपचार सहायता कोष निर्माण गरि बजेट व्यवस्थापन गर्नुपर्छ ।

    विद्यालय शिक्षालाई प्रभावकारी बनाउन विद्यालयमा राजनीतिकरण बन्द गर्नुपर्छ । योग्यता र क्षमताका आधारमा शिक्षकहरुको व्यवस्थापन र जिम्मेवारी दिने, समयानुकुल तालिम र उत्प्रेरणा दिने तथा कामका आधारमा पुरस्कार र दण्ड दिने, विद्यार्थी र कक्षा अनुसारका शिक्षक व्यवस्थापन गर्नुपर्छ ।

    सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले अनिवार्य सामुदायिक विद्यालयमा बालबच्चा पढाउने नीति ल्याउनुपर्छ ।

    सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले अनिवार्य सामुदायिक विद्यालयमा बालबच्चा पढाउने नीति ल्याउनुपर्छ । स्थानीय पाठ्यक्रम निर्माण गरि पालिकाको पहिचान र इतिहाँसका सबै पक्षलाई पढाउनुपर्छ । सामाजिक उत्तरदायित्वको विषय विद्यालयबाटै सिकाउन थाल्नुपर्छ ।
    पालिकामा पालिकाका दिर्घकालीन योजनाहरुको प्रथामिकीकरण गरेर सोही अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।

    सुशासन र पारदर्शिताका लागि सामाजिक जवाफदेहिताका औजारहरु प्रयोग गरेर सुशासनको अवस्था मापन तथा सुधारका काम गर्न सुशासन नीति ल्याउनुपर्छ ।

    विभेदरहित समाज निर्माणका लागि छुवाछुत र विभेदलाई मानवता विरुद्धको अपराधका रुपमा लिइ दण्डनीय बनाउने तथा जनचेता अभिबृद्धिका लागि गैह्र सरकारी क्षेत्रसँग सहकार्य गर्ने नीति ल्याउनु पर्छ ।

    पूर्वाधार र पर्यटन

    पालिकाको समृद्धिको अर्को आधार पूर्वाधार हो । पालिकाका सडक, शिक्षा तथा स्वास्थ्यका पूर्वाधार निर्माणका लागि प्रथामिकता तोकेर योजना ल्याउनु पर्छ । पालिकाभित्रका सडक कालोपत्रे र स्तरोन्नति, घर घर सडक पुर्याउने भन्दा अति दुर्गम र जोखिक क्षेत्रका घरहरु स्थानान्तरण गर्नेतिर ध्यान दिनुपर्छ । जसले विपद् निम्त्याउन कम गर्न सक्छ । पालिकाको जोखिम र विपद्को अवस्था मूल्यांकन गरेर राहत तथा उद्धार कोष बनाई परिचालन गर्नुपर्छ ।

    धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरि तिनको महत्वका आधारमा पूर्वाधार विकास गर्ने नीति ल्याउनु पर्छ । भएका क्षेत्रहरुको प्रचार प्रसार गरेर आन्तरिक पर्यटक भित्र्याउँदा आर्थिक अवस्था चलायमान बनाउन योगदान पुग्छ ।

    दुधकोसी जलविद्युत आयोजना शुरु भएपछि दशकौं हजारौं कामदार आवश्यक पर्छ । यसका लागि पालिकाभित्रका बेरोजगार व्यक्तिहरुको पहिचान गरेर त्यस आयोजनालाई चाहिने प्रकृतिका सीप र दक्षता बृद्धिका तालिमहरु सञ्चालन गर्नुपर्छ, ताकी त्यहाँ आवश्यक जनशक्ति स्थानीय नै खपत हुन सकुन्।

    यस पालिकाको लाइफलाइनका रुपमा मानिएको राष्ट्रिय गौरवको आयोजना दुधकोसी जलविद्युत आयोजना शुरु भएपछि दशकौं हजारौं कामदार आवश्यक पर्छ । यसका लागि पालिकाभित्रका बेरोजगार व्यक्तिहरुको पहिचान गरेर त्यस आयोजनालाई चाहिने प्रकृतिका सीप र दक्षता बृद्धिका तालिमहरु सञ्चालन गर्नुपर्छ, ताकी त्यहाँ आवश्यक जनशक्ति स्थानीय नै खपत हुन सकुन्। यसले विदेशिने क्रमलाई पालकाभित्र कम गर्छ । रोजगारी सृजना हुन्छ र जीवनस्तर पनि माथि उकास्न मद्दत पुग्छ ।

    यो आयोजना निर्माण सम्पन्न हुँदा बन्ने ताल पर्यटकीय स्थलका रुपमा बन्ने हुँदा विदेश पर्यटकहरु आउने हुँदा यो आयोजना प्रभावित छिमेकी पालिकाहरुसँग समन्वय गरेर यस क्षेत्र आउँदा कुन कुन स्थानमा पर्यटकहरु पुर्याउने भनेर साझा पर्यटकीय गन्तव्य पहिचान गरेर ती क्षेत्रको संरक्षण र विकासका लागि आजैबाट काम शुरु गर्नुपर्छ ।

    यत्तिका कामहरुलाई विषयगत र क्षेत्रगत रुपमा छुट्याएर क्रमशः काम गर्न सकियो भने पालिकाको समृद्धि धेरै टाढा पनि छैन । यसका लागि नेतृत्वको ईच्छाशक्ति र फराकिलो सोच हुन जसरी छ ।

    प्रतिक्रिया दिनुहोस