
ओखलढुंगा- करदाता सेवा कार्यालयले ओखलढुंगा र सोलुखम्बुका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । दुई जिल्लाका एक-एक जना उत्कृष्ट करदाता छनौट गरेर सम्मान गरेको हो ।
ओखलढुंगामा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको करदाता सेवा कार्यालयका सूचना अधिकारी सचिनदेव भट्टराईले जानकारी दिए ।
यसरी सम्मानित हुनेहरु ओखलढुंगाको गोविन्द हार्डवेयर एण्ड सप्लायर्स र सोलुखुम्बुको च्याल्सा विद्युत कम्पनीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको हो । यस्ता सम्मानले व्यवसायीहरुलाई कर तिर्न प्रोत्साहन गर्ने सम्मानित हुने गोविन्द हार्डवेयर एण्ड सप्लायर्सका राजेश श्रेष्ठले बताए ।
सम्मान कार्यक्रममा सहभागीहरुले व्यवसायीलाई कर तिर्न सहजीकरण गर्ने कार्यालय करदाता सेवा कार्यालय जिल्लाबाट हटाउन नहुने बताएका छन् । राज्यलाई कर तिर्न तयार भए पनि विगतमा करमा सहजिकरण गर्ने निकाय नभएर दुख पाएको भन्दै करदाता सेवा कार्यालय जिल्ला जिल्लामा हुनु पर्नेमा उनीहरुले जोड दिए । वर्तमान सरकारले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरिसकेको छ ।
अर्थ मन्त्रालयले निर्णय गरिसकेको भए पनि कार्यालय विस्थापन गरेर कुन निकायमा कसरी मर्ज गरेर सेवा प्रवाह गर्ने भन्ने विषयमा प्रष्ट परिपत्र आइनसकेको कार्यालय प्रमुख खिलबहादुर श्रेष्ठले बताए । कर संकलन र सेवा प्रवाहका हिसाबले करदाता कार्यालयले जिल्लामा प्रभावकारी काम गरेको उनको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस