
ओखलढुंगा- समाजसेवी जगतबहादुर तुइलानी राजभण्डारी दम्पतीको शालीक अनावरण गरिएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ११ स्थित रामबजारमा समाजसेवी दम्पतीको शालीक एक कार्यक्रमबीच अनावरण गरिएको हो ।
राजभण्डारीका सन्ततीहरुले घर अगाडी उनीहरुको शालीक निर्माण गरेका हुन् । शालीक अनावरण सिद्धिचरण नगरपालिकाका जेष्ठ नागरिक तथा राजनीतिज्ञ भैरवबहादुर श्रेष्ठले गरे । उक्त कार्यक्रममा राजभण्डारी दम्पतीका नाती तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले राजभण्डारी परिवारको सामाजिक, व्यवसायिक र शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गरे ।
श्रेष्ठ, राजभण्डारी दम्पतीका छोरी तर्फका नाती हुन् । उनले आफ्ना पुर्खाहरुको योगदानको चर्चा गर्दै सोलुखुम्बु र ओखलढुंगाका ग्रामीण भेगमा लत्ताकपडा र खाद्यन्न आपूर्ति गर्दै बढीमा १० प्रतिशत मात्र नाफा खानुपर्ने थिति बसालेको स्मरण गरे ।

जेष्ठ नागरिक भैरवबहादुर श्रेष्ठ समाजसेवी जगतबहादुर तुइलानी दम्पतीको शालीक अनावरण गर्दै । तस्वीर: नागिरक मिडिया
पञ्चायत कालमा जगतबहादुरले सोलुखुम्बु र ओखलढुंगाका नागरिकहरु लागि बैंक नहुँदा अन्य वस्तु धितो राखेर पैसा दिन्थे । खोटाङ सोलुखुम्बु र ओखलढुंगाका लागि स्थापना भएको हाल सगरमाथा जनता माविको संस्थापक भएर शिक्षा क्षेत्रमा समेत योगदान गरेका थिए। ‘माहिला साहू’का रुपमा चिनिएका जगतबहादुरले बाटोमा हिड्ने बटुवालाई सकेसम्म खानेकुरा, नसके पानी भए पनि खुवाउने चलन गरेका थिए । अक्षय तृतीयामा सबै बटुवाहरुलाई जाैका सातु र सर्वत खुवाउने गर्दथे ।
उनको योगदानको चर्चा गर्दै स्थानयि समाजसेवी तथा सिद्धिचरण नगरपालिकाका पूर्व मेयर मोहन श्रेष्ठले लाहुरबाट आउनेको मुद्रा सटहीदेखि परिवारमा पैसाको खाँचो टार्न दुई तीन जिल्लाका मान्छेहरु जगतबहादुरको घर आउने गरेको आफूहरुले देखेको बताए । वर्तमान मेयर जेतेन खनाल, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीलगायतले सामाजिक व्यक्तित्वको संझनाले मानिसहरुमा समाजसेवा गर्ने प्रेरणा मिल्ने बताए ।
आफ्ना पूर्खाहरुको योगदानको चर्चा गर्दै सीमाविद् श्रेष्ठले मानिस सम्पूर्ण गुणहरुले भरिपूर्ण नहुने भए पनि समाजिक क्षेत्र, व्यवसायिक क्षेत्र र शिक्षा क्षेत्रमा योगदान गरेकै कारण आफुहरु पनि राम्रो शिक्षा दिक्षाबाट अहिलेको अवस्थामा पुग्न प्रेरणा मिलेको बताए ।
बि.सं. १९५७ सालमा जन्मेका जगतबहादुर राजभण्डारीको २०५४ सालमा स्वर्गारोहण भएको थियो । उनकी धर्मपत्नि तुइलानी राजभण्डारीको भने १९६२ जन्म भइ २०३५ सालमा देहान्त भएको परिवारका सदस्य देवेन्द्र राजभण्डारीले बताए ।
राजभण्डारी दम्पतीले सामजिक, शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर र सम्झना स्वरुप अर्धकदको शालीक निर्माण गरिएको उनको भनाइ छ । जगतबहादुर-तुइलानी दम्पतीका छोरा र छोरीतर्फ गरि ८८ जना सन्ततीहरु छन् ।



प्रतिक्रिया दिनुहोस