
ओखलढुंगा- गुटगत विवादले नेकपा एमाले ओखलढुंगाको प्रतिनिधी छनौट पेचिलो बन्दै गएको छ । केन्द्रको निर्देशन अनुसार मंसिर १३ गतेसम्म प्रतिनिधी छनौट गरिसक्नु पर्नेछ ।
जिल्लामा प्रतिनिधि छनौटमा गुटगत प्रतिस्पर्धाको विवाद केन्द्रीय संगठन विभागसम्म पुगेको छ । स्थानीय पालिका कमिटीहरुले पालिका पालिका केन्द्रमा मतदान केन्द्र राखेर निर्वाचन गराउन वा सहमतिमा प्रतिनिधी छनौट गर्न माग गर्दै आएका थिए ।
दुर्गम गाउँका सदस्यहरु सदरमुकाम आएर मतदान गर्न नसक्ने भएकाले विकटता हेरेर पालिकामा मतादान गराउन उनीहरुको माग थियो । त्यस्ता माग जिल्ला कमिटीले वेवास्ता गर्दै सदरमुकाम ओखलढुंगामा मतदान केन्द्र तोकेर छोटो समयमा निर्वाचन प्रकृया अघि बढाएपछि केन्द्र र प्रदेशले समेत पालिकाहरुको माग र आवश्यकता अनुसार गर्न परिपत्र गरेको एमाले नेता राजन खत्रीले बताए । केन्द्रीय संगठन विभागको परिपत्र अनुसार प्रतिनिधी छनौट प्रकृया अघि बढाए जिल्लामा कुनै समस्या नहुने उनको भनाइ छ ।
यद्यपी निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचन जिल्लामै हुने तय भइसकेको छ । तालिका अनुसार मंसिर १३ गते जिल्ला समसन्वय समितिको सभाहलमा मतदानस्थल राखिएको निर्वाचन कमिटी प्रमुख शोभितमान गुरुङले जारी गरेको सुचनामा उल्लेख छ । उनले मंसिर ११ गते जिल्लामा एक ठाउँमा निर्वाचन गर्ने सहमति भएको सूचना जारी गरेका छन् ।
नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले मंसिर ४ गते नै मनोनयन प्रकृया निर्वाचनको ७ दिन अघिबाट शुरु गर्न, सकेसम्म सर्वसम्मत छनोट गर्न र निर्वाचन गर्नु पर्ने भएमा सबैलाई पायक पर्ने गरी स्थानीय आवश्यकताका आधारमा मतदान केन्द्रहरु तय गर्न निर्देशन दिएका थिए ।
खतिवडाको निर्देशन जिल्ला कमिटीले नमानेपछि ८ स्थानीय तहका पालिका कमिटीहरुले केन्द्रीय संगठन विभागलाई गुहारेका थिए । उनीहरुको माग अनुसार विभागका प्रमुख काशीनाथ अधिकारीले पालिकाका केन्द्र केन्द्रमा मतदान केन्द्र बनाउन निर्देशन दिएको छ ।
प्रतिनिधी छनौटको विवाद केन्द्रसम्म पुग्ने मुख्य कारण भने केपी ओली र ईश्वर पोखरेल गुटको खिचातानी नै हो । जिल्ला कमिटीका अध्यक्षसहितका अधिकाशं पदाधिकारी ईश्वर पोखरेल निकट छन् । पदाधिकारीहरुले जिल्लाभन्दा बाहिर निर्वाचन गराएमा ओलि समुहका नेताहरु निर्वाचित हुने संभावना देखेर सदरमुकाम केन्द्रित निर्वाचन गराउन खोजेको एमाले नेता कार्यकर्ताहरुको आरोप छ ।
जिल्ला अभिवेशनका अधिकारी जिताउन पोखरेल अधिवेशन अवधिभर जिल्लाा बसेका थिए । उनको जन्मस्थान ओखलढुंगा भएपनि राजनीति भने काठमाण्डौंबाट अघि बढाएका हुन् । निर्वाचनको विषयमा जिल्ला कमिटीका उप सचिव राजीव कट्वालले केन्द्र र प्रदेशको निर्देशन नभएर अनुरोध भएको, त्यस अघि नै मतदान केन्द्र तोकेर मनोनय भएकाले फेरबदल केही नहुने बताए ।
उनले भने, ‘त्यो निर्देशन नभएर अनुरोध हो, त्यस अघि नै जिल्लाले मनोनय गरेकाले पत्रको सवालमा केही हुदैन ।’ कट्वालले निर्वाचन भन्दा सहमतिमै छनोट गर्ने प्रयास भइरहेकाले सहमति हुने संभावना बढी रहेको बताए । यदी निर्वाचन नै भएमा जिल्ला बाहेक अन्यत्र हुन नसक्ने र त्यो प्राक्टिकल नहुने बताए ।
जिल्ला केन्द्रित निर्वाचन गराएमा सहभागी नहुने भन्दै धेरै नेता कार्यकताहरुले सामाजिक सञ्जलमा विरोध जनाइरहेका छन् । ओलि पक्षीय कार्यकर्ताहरुले भने केन्द्रको परिपत्र अनुसार नभए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका छन् । महाधिवेशनका लागि ओखलढुंगाबाट छ जना खुल्ला, चार जना महिला, एक जना दलित र एक जना युवा गरी १२ जना महाधिवेशन प्रतिनिधी छनौट हुने छन् ।



प्रतिक्रिया दिनुहोस