
शिवप्रसाद ढुङ्गानाओखलढुंगा- जिल्लामा श्रृखलाबद्ध रुपमा हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको अनुसन्धान टोलीले अभियुक्तहरु पक्राउ गरेको हो ।
तीन महिनायता ओखलढुंगामा दुई वटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने ४ जनाको गिरोहलाई पक्राउ गरी सामुहिक रुपमा आइतबार सार्वजनिक गरेको हो ।
यसरी पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका– ३, दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका –४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरिएको हो भने बाँकी ३ जनालाई हिजो रातमाटेबाट पक्राउ गरेको हो ।
४ जनाको समूहले गत पुस १५ गते राति ८ बजे ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका– ६, भदौरे गैरीगाँउ स्थित किराना पसल संञ्चालन गर्ने दम्पती ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीय श्रीमती रत्नमाया थापा मगरको हत्या गरेका थिए ।
दुवै जनाको कोदालो तथा अन्य धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या भएको थियो । हत्यापछि गोठमा लगेर स्याउलाले छोपेर, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरेर उनीहरु फरार भएका थिए ।
उक्त घटनापछि केन्द्रीय अनुसन्धान व्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रारम्भिक सोधपुछको क्रममा उनीहरुले यसअघि ३ महिना अघि नै अर्को हत्या गरेको खुल्न आयो ।
गत असोज २६ गते राति २ बजे ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं. ४ चार्खुमा खेति किसानी गरी बस्ने ५२ वर्षीया एकल महिला रत्न कुमारी कटवालको हत्या भएको थियो । कट्वाललाई बन्चरोले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी विभत्स हत्या गरी नगद तथा सुनका गर गहना समेत लुटपाट गरि लगेको घटना समेतमा उनीहरु नै संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएस्पी मदन केशीले बताए ।
उनीहरुको साथबाट हत्यामा प्रयोग गरिएको चार्खु घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो १ थान, रत्न कुमारी कटवालको हत्यापश्चात लुटिएको भनिएको सुन गालेर बनाइएको रिङ ,रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू बरामद गरिएको छ । म्याद थप गरेर उनीहरुमाथि थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट भइरहेको केशीले बताए ।
प्रहरीको अनुसन्धानमा हत्या गर्ने समुहको प्रमुख उद्देश्य लुटपाट गर्ने अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन् । अभियुक्तहरु मादक पदार्थ सेवन गर्ने, आर्थिक अवस्था कमजोर रहेको पाइएको पनि प्रहरीले जनाएको छ । उनीहरुले अन्य घटना घटाउने तयारी गरेको पन िप्रहरीले आशंका गरेको छ ।
घरमा सुन पैसा हुने र परिवारमा एकल रहेका वा बुढाबुढी व्यक्तिहरु पहिचान गरेर अध्ययन गरि घटना घटाउन केही मानिसका फोटोहरु पनि संकलन गरेको पाइएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए । उनीहरुका मोवाइल पनि अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।
चार्खु घटनामा लुटिएको सुन फेला परेको र भदौरे घटनाको धनमाल पहिचान हुने प्रहरीको भनाइ छ । घटनापछि गाउँमा त्रास फैलिएको थियो । प्रहरीले गिरोह नै समातिएकाले अब ढुक्क हुन अपिल गरेको छ । अभियुक्तहरुसँगबाट २ थान भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको छ ।



प्रतिक्रिया दिनुहोस