२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

मेयरको जाँड पार्टीले शिक्षक ठहरै !

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • मेयरकाे जाँड पार्टीले शिक्षक ठहरै भएका छन् । बुंगल नगर प्रमुख धनबहादुर विष्टको जाँड पार्टीका कारण एक जना शिक्षकको ज्यान गएको हाे । मेयरसहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएको भोजबाट रक्सीले मातेर फर्कंदै गर्दा नगरपालिका– १, दहबगरमा आइतबार राति १२ बजेतिर लु १ क १२७८ नं को जेसिबी दुर्घटनामा परेको थियो । याे बझाङकाे खबर हाे ।
    जेसीबी दुर्घटनामा परी बुंगल नगरपालिका १, भेरगडा बस्ने ३४ वर्षीय मानबहादुर बोहराको मृत्यु भएको हो । मृतक बोहरा महेन्द्र माध्यमिक विद्यालय दहबगरको स्थायी शिक्षक हुन् । उनी कांग्रेसनिकट शिक्षक संघमा आबद्ध थिए । दुर्घटनामा बुंगल नगरपालिका ९, देउलीकोटका जेसिबी चालक २४ वर्षिय महेश खडायत, बुंगल नगरपालिका १, दहबगरका २७ वर्षिय रामबहादुर बोहरा र सोही ठाउँका ५० वर्षिय प्रताप धामी घाइते भएका छन् ।
    घाइते तीनै जनालाई गम्भीर चोटपटक लागेको र थप उपचारका लागि धनगढी पठाइएको छ ।स्थानीयका अनुसार नगरप्रमुख धनबहादुर विष्टसहित कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले वडा नं १ दहबगरमा रात्रिभोज गरेका थिए । आइतबार अबेर दहबहगर पुगेका नगरप्रमुख विष्टले दहबगरकै एक व्यापारीलाई पार्टी प्रवेश गराएपछि उनीसहितको टोलीले महेन्द्र माविका लेखापालको घरमा बसेर जाँड पार्टी गरेका थिए ।
    पार्टीमा शिक्षक संघका जिल्ला नेता उत्तम मल्ल पनि सहभागी थिए ।नगरप्रमुख विष्ट दहबगर पुगेपछि चालकसहित ६ जना कार्यकर्ता कालंगा हाइड्रो पावरको जेसिबी चढेर हाइड्रोको क्याम्पबाट भोजमा जान निस्केको एक स्थानीयले बताए । भोज सकिएपछि मध्यरातमा हातमा रक्सीका बोतलसमेत लिएर रक्सी खाँदै जेसिबी चढेर फर्किएको प्रत्यक्षदर्शी स्थानीयले बताए ।
    उनीहरूले राति हिँडेर जान समय लाग्ने भएकाले नगरप्रमुखको गाडी फसेको र निकाल्नका लागि जेसिबी आवश्यक परेको बाहाना गरेर क्याम्पबाट जेसिबी लगेर गएका थिए । उनीहरूले दहबगरको क्रिकेट मैदाननजिक मेयरको गाडी फसेको र मेयरकै अनुरोधमा जान लागेको भनेर आयोजना प्रमुख बखत शाहीलाई ढाँटेका थिए ।भोजभतेरमा पार्टी संगठन सुदृढीकरण र विस्तारबारे पनि छलफल भएको थियो ।
    अत्यधिक मदिरा सेवन गरेका उनीहरू जेसिबी चढेर नाच्दै गाउँदै फर्कंदै गर्दा जेसिबी अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनास्थलमा मदिराका बोतल भेटिएको भए पनि प्रहरी आउनुभन्दा अघि नै मेयर बिष्टको निर्देशनमा बोतलहरू घटनास्थलबाट हटाइएको अर्का प्रत्यक्षदर्शीले बताए ।बुङगल नगरपालिका प्रमुख धनबहादुर बिष्टले भने आफूले कुनै भोजभतेर नगरेको बताए । आफ्ना शुभचिन्तकले बोलाएपछि भेटघाटका लागि दहबगर आएको उनको भनाइ छ । उनले आफ्नो गाडी कतै नफसेको र जेसिबी पनि नबोलाएको बताए ।
    यद्यपि, भोजमै सहभागी एक जनाले दहबगरबाट मध्यरात फर्किन अरु साधन नपाएपछि मेयर बिष्टले नै जेसिबी बोलाउन सुझाएको बताए ।‘अरु गाडी माग्यो भने राति दिने हैनन् । मेयरको गाडी फस्यो भन । जेसिबी बोलाएर त्यसैमा जाऊ’ भनेर मेयरले भन्नुभयो, ‘अनि जोगबहादुर सर (स्थानीय शिक्षक) ले फोन गरेर मेयरको गाडी फसेको भनेर क्याम्पमा खबर गरेपछि जेसिबी आएको हो ।’ उनले मेयरका एक कार्यकर्ताले आयोजना प्रमुखलाई फोन गर्नुपूर्व नै स्थानीयसमेत रहेका चालकलाई फोन गरेका थिए ।
    चालक खडायतले आयोजना प्रमुखको स्वीकृति भए आफू आउन तयार रहेको बताएपछि शिक्षक जोगबहादुरले आयोजना प्रमुख शाहीलाई फोन गरेका थिए ।मेयर बिष्ट आफ्नै नगरपालिकामा बन्दै गरेको ६५ मेघावाटको कालंगा हाइड्रोका व्यवस्थापनप्रति असन्तुष्ट रहेको स्थानीयले बताउने गरेका छन् ।
    गत वर्ष करिब ३ करोडको क्षती हुने गरी भएको तोडफोडको घटना पनि उनकै योजनामा भएको स्थानीय बताउँछन् । हाइड्रोले भनेअनुसार चन्दा नदिएको, आफ्ना कार्यकर्तालाई जागिर नदिएको र आफूहरूसँग सरसल्लाह नगरी काम गर्ने गरेको गुनासो मेयर बिष्टले आफ्नो शुभचिन्तक सर्कलमा गर्ने गरेका छन् ।- जनआस्था

    प्रतिक्रिया दिनुहोस