२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

‘दायित्व’ले दियाे स्थानीय तहमा ‘आर्थिक सुशासनका लागि नेतृत्व’ तालिम

  • २०७८ पौष १२, सोमबार मा प्रकाशित २ साल अघि
  • लुम्बिनी- सुशासनकाे क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था ‘दायित्व’ले स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीका लागि ‘आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक तालिम आयाेजना गरेकाे छ ।   लुम्बिनी प्रदेश अन्तर्गतका तिलोत्तामा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएकाे हाे ।

    स्थानीय तहमा असल सार्वजनिक नीति, सार्वजनिक सेवामा व्यावहारिक दृष्टिकोण, आन्तरिक युवा रोजगारी, तथ्यमा आधारित नीति निर्माण, सार्वजनिक–निजी साझेदारी, स्थानीय सरकारको वित्त व्यवस्थापन, सदाचार संस्कृतिजस्ता विषयमा तालिम दिइएकाे  साे संस्थाले जारी गरेकाे  विज्ञप्तिमा उल्लेख छ ।

    स्थानीय तहका प्रमुख, उपप्रमुख,  प्रमुख प्रशासनिक अधिकृत र अन्य कर्मचारीलाई दिइएको तालिममा  राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर स्रोतसाधनको उचित व्यवस्थापन गरे उत्पादनशील अर्थतन्त्र र दिगो विकासमा धेरै काम गर्न सकिने विश्वास लिइएकाे छ ।

    तालिमकाे समापन कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायत उपस्थिति थिए ।

    दायित्वले स्थानीय तहको क्षमता अभिवृद्धका लागि प्रशिक्षणसम्बन्धी पाठ्यक्रम बनाएरै  ६ वटा भागमा काम गरिरहेकाे र लुम्बिनीमा दिइएको तालिम भाग ३ अन्तर्गत रहेको बताइएकाे छ ।

    उक्त तालिमकाे पहिलो र दोस्रो संस्करण गण्डकीको पोखरामा भएको थियो । युवा रोजगारी प्रवर्द्धनका लागि स्थानीय सरकारको सक्रियता बढाउन पालिका तहमा परियोजनाले काम गरिरहेकाे साे संस्थाले जनाएको छ । यस्ता तालिमले स्थानीय तहमा सुशासन अभिवृद्धि र पारदर्शीता कायम गर्न सहयाेग पुग्ने विश्वाश छ ।

    प्रतिक्रिया दिनुहोस