२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
देवानी मध्ये ५३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा

सम्बन्ध विच्छेद: टुट्दै सम्बन्ध, भत्किदै परिवार

  • २०७९ श्रावण ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  एक दम्पतिले गत वर्ष नाबालक छोरी श्रीमान्कै साथमा रहने र अंशबापत केही रकम श्रीमतीले पाउने गरि सहमतिमा अदालतबाट सम्बन्ध विच्छेद गरे ।

    ४ वर्ष विदेश बसेर नेपाल आएका श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न सँगै बसेको ५ महिना नबित्दै श्रीमती अदालतको ढोकामा पुगिन् । उनीहरुबीचको आपसी कलहको शुरुवात् केही आर्थिक कारोबार र समाजमा श्रीमतीका कुरा काट्ने विषय थिए । ३० वर्ष उमेर र विहे भएको पाँच वर्ष पुरा भइनसक्दै उनीहरुले पारिवारिक सम्बन्ध विच्छेद गर्ने निचोडमा पुगे ।

    अघिल्लो वर्ष भरतीय सेनामा कार्यरत श्रीमान्लाई साथैमा लिएर श्रीमती जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि आइ पुगिन् । उनले सम्बन्ध विच्छेद दुवै पक्षको सहमतिमा हुन लागेको बताएपछि अदालतका कर्मचारीले जागिर श्रीमान् छोडेर दुख पाइएला नि भनेर सोधे । उनले सुख भन्दा साथ दिने ठूलो हुन्छ भन्ने जवाफ दिएकी थिइन् । सम्बन्ध विच्छेद गरेर अदालतबाट बाहिरिएपछि ती महिला उनले रोजेका अर्का पुरुषसँग अर्को विहे गरेर हिडेको स्थानीयले बताए ।

    सम्बन्ध विच्छेद गर्न आउँदाका केही प्रतिनिधी घटना मात्रै हुन्, यी । ‘महिलाहरु घरेलुहिंसाबाट पीडित भएर सम्बन्धमा बस्न नसक्ने पारिवारिक तनावका कारण पनि सम्बन्ध विच्छेद गर्न आएका हुन्छन्, तर अधिकांश केशहरु वैदेशि रोजगारीमा श्रीमान् गएपछि फर्केर आउँदासम्मका आर्थिक तथा समाजिक समस्या र नैतिक प्रश्नहरुले ल्याएका छन्’ अधिवक्ता बोध नारायण कट्वाल भन्छन् । उनले श्रीमान् विदेशमा हुँदा देखिएका विचलनले सम्बन्ध विच्छेसम्म पुर्याएको र अधिकांश केशहरु त्यस्तै आउने गरेको बताए ।

    आर्थिक वर्ष ०७८/०७९मा ओखलढुंगा जिल्ला अदालतमा देवानी तर्फका मुद्दामध्ये ५३ प्रतिशत सम्बन्ध विच्छेदको दर्ता भएका छन् । देवानीतर्फ आधा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका श्रेस्तेदार नविन खनालले बताए । उनले भने, ‘यस्ता मुद्दा २० वर्षदेखि ३५ वर्ष उमेर समुहका अधिकांश छन्, पति पत्नि सँगै नहुँदा सम्बन्धमा आउने दरार धेरै जसो विवादको कारण भएको बुझ्न सकिन्छ ।’

    जानकारहरुका अनुसार वैदेशिक रोजगारीमा गएका पुरुषको परिवारमा धेरै विचलन देखिएको छ । एक पटक भइसकेको घरबार भत्काएर नयाँ बनाउन नेपाली समाजको परम्परामा निकै कठिन र चुनौतिपूणर् छ ।

    ‘तर, धेरैजसो युवायुवति सम्बन्धमा आएको आपसी दरारका कारण जीवनभर सँगै साथ दिने कसम खाएर जोडेका सम्बन्ध टुटाउन तयार हुँदा सुन्दर परिवार भत्किने मात्रै होइन आश्रित सदस्यहरु संरक्षक विहीन हुने गरेका छन्’ ओखलढुंगा क्याम्पसका समाज शास्त्रका उप प्राध्यापक डा. भेषनाथ खनालले भने । जोडिदै भत्किँदै गरिरहने सम्बन्धले पारिवारिक सौहार्दता मात्रै नभइ सुसंस्कृत समाजलाई भत्काउँदै लगेको उनको तर्क छ ।

    प्रतिक्रिया दिनुहोस