२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ओखलढुंगा प्रदेशसभा ‘१’ मा काँग्रेसका प्रदीप सुनुवार विजयी

  • २०७९ मंसिर ६, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– प्रदेशसभा १ मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई तीन सय ६० मतले पछि पार्दै निर्वाचित भए । सुनुवारले १४ हजार नौ सय १६ मत प्राप्त गरे । गुरुङले १४ हजार पाँच सय ५६ मत प्राप्त गरे ।

    को हुन् सुनुवार ?

    खिजिदेम्बा गाउँपालिका ५, खिजिफलाँटे स्थायी ठेगाना भएका सुनुवार २०२७ वैशाख १७ बुवा शान्त बहादुर र आमा फूलमाया सुनुवारको जेठो छोरोको रुपमा जन्मिएका थिए । २०३९ सालमा शुरुमा अखिलको विद्यार्थीबाट राजनीतिमा आबद्ध भएका थिए । २०४२ मा नेवि संघ दोलखाको जिरिमा इकाइ कमिटिमा रही अखिलको राजनीति छोडे । २०४३ सालमा काँग्रेस निकट युवक संगठनको गाउँ सभापति बने । २०४८ मा काँग्रेसको क्षेत्रीय समिति सदस्य भए ।

    २०४९ मा नेपाली काँग्रेसको जिल्ला सदस्य भए । नवौं महाधिवेशन २०५२ देखि हालसम्म निरन्तर महाधिवेशन प्रतिनिधिको रुपमा पार्टीमा निर्वाचित भए । नवौं महाधिवेशनबाट जिल्ला समितिको सहसचिव, १० औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र पार्टी विभाजन भई काँग्रेस प्रजातान्त्रिक भएपछि पार्टीको जिल्ला उपसभापति बने । पार्टी एकीकरण पछि फेरी जिल्ला उपसभापति भए । ११ औं र १२ औं महाधिवेशनबाट दुईपटक जिल्ला सभापति बने । १४ औं महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित भए ।

    २०७४ को निर्वाचनमा प्रदेशसभा २ बाट उम्मेद्वार बनेपनि काँग्रेसकै बागी उम्मेद्वारको कारण पराजित भएका थिए । २०५४ मा खिजिफलाँटे गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनी जिल्ला खेलकुद विकास समितिको अध्यक्ष २०५१ सालमा र पछि गरि दुई पटक नियुक्त भएका थिए ।

    २०६२/०६३ को जनआन्दोलनमा तरुण दलको अञ्चल संयोजक भई आन्दोलनमा सहभागी हुँदा पटक पटक पक्राउ परि हिरासतमा परे । काँग्रेस पार्टी विभाजनदेखि नै सुनुवार शेरबहादुर देउवा समूहमा छन् । साविकको सगरमाथा अञ्चलका जिल्लाहरुमा देउवा समूहको उपस्थिति शून्य हुँदा समेत जिल्ला सभापति बनेका थिए । प्रदेश १ सरकार वाम लोकतान्त्रिक गठबन्धनले निर्माण गर्ने हो भने उनलाई मूख्यमन्त्रीका दाबेदारको रुपमा समेत प्रस्तुत गरिएको छ ।

    ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ का कूल मतदाता ५६ हजार ७ सय ३३ मध्ये ३१ हजार ४ सय ६३ मत खसेको थियो । सुनुवारका प्रतिद्वन्द्धी गुरुङ नेकपा एमालेका प्रदेशस्तरीय नेता तथा प्रदेश १ सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस