२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सुमन र सुनमायाले जिते खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधी

  • २०७९ फागुन १८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– सोलुखुम्बुका सुमन कुलुङ र जुम्लाकी सुनमाया बुढाल ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’को चौथो संस्करणे जितेका छन् । बिहिबार खिजिदेम्बा गाउँपालिका ५ मा सम्पन्न म्याराथनको उपाधी कुलुङ र बुढाले हात पारेका हुन् ।

    ‘राष्ट्रिय पुरुष विधा’ तर्फ सुमन कुलुङले निर्धारित ४२ किलोमिटर दुरी तीन घण्टा ४९ मिनेटमा पार गरे । भोजपुरका तिर्थ तामाङ दोश्रो भए । सोलुखुम्बुका अर्जुन कुलुङ तेश्रो भए । बैतडीका मोहनदेव जोशी चौथो भए ।

    ‘राष्ट्रिय महिला विधा’ तर्फ सुनमायाले चार घण्टा ४१ मिनेटमा निर्धारित दुरी पार गरिन् । जुम्लाकै मन्जु रावत दोश्रो भइन् । खोटाङकी प्रिया राई तेश्रो भइन् । सिन्धुपाल्चोककी नितु तामाङ चौथो भइन् ।

    ‘स्थानीय पुरुष विधा’ तर्फ मानेभन्ज्याङ गाउँपालिकाका कृति राई प्रथम भए । खिजिदेम्बाका रबिन्द्र तामाङ दोश्रो भए । खिजिदेम्बाकै देवराज सुनुवार तेश्रो भए । ‘स्थानीय महिला विधा’तर्फ खिजिदेम्बाकी पदमकुमारी सुनुवार प्रथम भइन् । हिरुमाया भुजेले दोश्रो भइन् । अनिता सुनुवार तेश्रो भइन् ।

    खिजिदेम्बा गाउँपालिका ५ खिजिफलाँटेबाट शुरु भएको अल्ट्रा ट्रेल म्याराथन थोले देम्बा, ताक्लुङ, लाम्जे, भुलभुले हुँदै पुन: खिजिफलाँटेमै आएर टुंगिएको हो । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाईबाट शुरु भएको म्याराथन तीन हजार छ सय मीटरको उचाई पार गर्दै शुरु बिन्दुमै आएर टुंगिएको हो ।

    विजेताहरुले राष्ट्रिय विधातर्फ क्रमश: ७०, ६०, ५० र २५ हजार नगद प्राप्त गरे । स्थानीय विधातर्फ क्रमश: २०, १५ र १० हजार नगद पाए । म्याराथनमा जम्मा ५८ प्रतिस्पर्धी सहभागी थिए । ओखलढुंगा पर्यटन विकास समितिले २०७५ देखि खिजिदेम्बा म्याराथन आयोजना गर्दै आएको हो । कोभिडको कारण एकवर्ष म्याराथन हुन सकेन ।

    गतवर्षदेखि पुन: निरन्तरता दिन थालिएको हो । साहसिक खेलकुदको माध्यमबाट जिल्लाको पर्यटनलाई विकास गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ङावाङिमा शेर्पाले बताए । खिजिदेम्बा गाउँपालिका, नेपाल पर्यटन बोर्ड लगायतको सहयोगमा म्याराथन आयोजना गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस