२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

चिसोले कठ्याङ्ग्रिएर दुई जना भूकम्पपीडितको मृत्यु

  • २०८० कार्तिक २५, शनिबार मा प्रकाशित ५ महिना अघि
  • जाजरकोट ।  चिसोका कारण २ जना भूकम्पपीडितको मृत्यु भएको छ। जाजरकोटको नलगाड नगरपालिका-४ कालाच्युराका ७७ वर्षीय गोपाल रावल र ४५ वर्षीय पम्फा रावलको चिसोका कारण मृत्यु भएको हो।

    त्यहाँका वडाध्यक्ष बद्री पन्तका अनुसार उनीहरू दीर्घरोगी हुन्। ७७ वर्षीय रावल भूकम्प जानुभन्दा एकसाता अघि नगर अस्पताल दल्लीमा उपचार गरी घर फर्किएका थिए। उनी दमका बिरामी थिए।

    भूकम्प गएपछि बारीको पाटामा त्रिपालमुनि बस्नुपरेपछि उनको स्वास्थ्य बिग्रँदै गएको र बिहीबार साँझ मृत्यु भएको वडाध्यक्ष पन्तले जानकारी दिए। उनी ७७ वर्षीया श्रीमती धनसरासँग बस्दै आएका थिए। उनको छोरा रोजगारका लागि भारतमा छन्। भूकम्पपछि उनको घरमा बस्नै नहुने गरी क्षति पुगेपछि बारीको पाटामा त्रिपालमुनि बसिरहेका थिए।

    मायाडाँडाका ४५ वर्षीया पम्फा रावलको पनि बिहीबार दिउँसो निधन भएको वडाध्यक्ष पन्तले जानकारी दिए। उनी पम्फा दमसँगै मुटुरोगी पनि हुन्। अविवाहित भएका कारण पम्फा एक्लै बस्दै आएकी थिइन्। भूकम्पले घर भत्काएपछि त्रिपालमुनी बसिरहेकी उनको पनि स्वास्थ्यमा समस्या देखिएपछ नगर अस्पताल दल्ली पुर्‍याइएको थियो।

    उपचारका क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको वडाध्यक्ष पन्तले बताए। भूकम्प गएको रात उनीहरूले खुला आकाशमुनि बिताएको वडाध्यक्ष पन्तले जानकारी दिए। ‘तत्काल राहतको व्यवस्था गर्न नसक्दा गत शनिबार राति अधिकांशले खुला आकाशमुनी रात काट्नुपरेको थियो,’ उनले भने।

    भोलिपल्टमात्रै त्रिपालको वडाले त्रिपालको व्यवस्था गरेको थियो। वडाबाट २ सय त्रिपाल खरिद गरी पहिलो चरणमा दीर्घरोगी, सुत्केरी र वृद्धवृद्धालाई वितरण गरेको थियो। तर, चिसो भुइँमा ओछ्याउने र ओड्नेको अभाव हुँदा चिसो मौसममा दीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी र बालबालिकालाई सकस भएको वडाध्यक्ष पन्तले बताए।

    भूकम्प गएपछि बारीको पाटामा त्रिपालमुनि बस्नुपरेपछि उनको स्वास्थ्य बिग्रँदै गएको र बिहीबार साँझ मृत्यु भएको वडाध्यक्ष पन्तले जानकारी दिए। उनी ७७ वर्षीया श्रीमती धनसरासँग बस्दै आएका थिए।

    उनको वडाका ३७५ घर पूर्ण क्षति भएको छ। जसकारण १ हजार ९४५ जनसंख्या त्रिपालमुनि छन्। भूकम्प गएको एकसाता बितिसक्दा पनि पीडितहरूले राहत नपाएको वडाध्यक्ष पन्तले बताए। नगरपालिकाले दुई सय थान त्रिपाल र केही खाद्यान्न दिएको थियो।

    ‘परिवार ठूलो भएकाहरूलाई अझै पनि त्रिपाल पुगेको छैन। ओड्ने ओछ्याउने त परको कुरा हो,’ उनले भने। उनको वडामा ६० जना विपन्न दलित, ३० जना ज्येष्ठ नागरिक १३ जना सुत्केरी र पाँच वर्षमुनिका २३० जना बालबालिका छन्। उनीहरूलाई चिसोबाट जोगाउन चुनौतीपूर्ण रहेको उनले बताए।

    केही संघसंस्थाले दिएको राहत नामको मात्रै राहत भएको उनले बताए। ‘सरकारले पठाएको राहत केही पाइएपनि पर्याप्त छैन,’ उनले भने।अत्यन्तै विपन्न केही परिवारलाई भने वडाले नै कम्बल किनेर वितरण गरेको थियो। केन्द्र र प्रदेश सरकारले पठाएको भनिएको न्यानो कपडा, त्रिपाल र खाद्यान्न अहिलेसम्म नपाएको उनले बताए।

    एक हप्तापछि आज नगरपालिकाबाट ८० बोरा चामल प्राप्त भएको र त्यसलाई आवश्यकताका आधारमा पीडितलाई वितरण गरिने उनले बताए। वडामा ४ सय बोरा चामल, नुन, कम्बल, त्रिपाल आवश्यक रहेको उनले बताए।

    भूकम्पपीडितलाई चिसोबाट बचाउन अस्थायी घर बनाउन समेत आवश्यक रहेको उनले बताए। अर्को कुरा गाउँमा महामारी फैलिने खतरा पनि बढेको उनले बताए। भूकम्पले घरसँगै अधिकांश शौचालय पनि भत्काएको छ। जसकारण प्रभावितहरू खुला शौच गर्दा झाडापखालाको महामारी फैलिने खतरा रहेको उनले बताए।

    नलगाडका मेयर डम्बर बहादुर रावलले अहिलेसम्म प्राप्त राहतलाई सवै वडाहरूमा समानुपातिक तवरबाट बाँडिएपनि पर्याप्त नभएको बताए। अस्थायी शौचालयहरू बनाउने, खानेपानीको व्यवस्था, अस्थायी टहरा बनाउने विषयमा पहिलो चरणको राहत वितरण सकिएलगत्तै छलफल गरिने उनले बताए।

    वडाध्यक्ष पन्तका अनुसार भूकम्पले १५ वटा खानेपानी आयोजनामा क्षति पुगेकाले वडामा स्वस्थ खानेपानीको अभाव हुन थालेको छ। पीडितहरू भूकम्पले फुटाएका पानीको मूल, खोला र खोल्साबाट पानी पिइरहेको र यसले स्वास्थ्यमा समस्या उत्पन्न गराउन सक्ने उनले बताए।

    वडाध्यक्ष पन्तका अनुसार भूकम्पमा परी उनको वडामा एक जनाको मृत्यु र  १८ जना घाइते भएका छन्।घाइतेहरूको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको उनले जानकारी दिएका छन्।

    • सेताेपाटी डटकमबाट

    प्रतिक्रिया दिनुहोस