२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पहिरोमा परि सात जना वेपत्ता

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बेनी-  म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान पहिरोमा पुरिएर सात जना वेपत्ता भएका छन्।  घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको वडा अध्यक्ष राजाराम सुवेदीले बताए।

    भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ। भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए।  भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयबासी समेत रहेका वडा सदस्य लोकबहादुर पुनले बताए। माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएको उनले जानकारी दिए।

    घण्टीवाङ मुनीको रिखामा ६ घरको बसोबास थियो। चार घर विस्थापित भएका छन्। ‘गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ,’ वडा सदस्य पुनले भने ‘पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ।’

    यसैगरी सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ। वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए। घरका मानिसहरुले भागेर ज्यान बचाएका छन्। भाग्ने क्रममा १ जना घाइते भएका छन्।

    प्रतिक्रिया दिनुहोस