२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

९७ लाखले विद्यालय छाड्दै

Thumbnail
  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • लन्डन : कोरोना भाइरस महामारीले गर्दा विद्यालय बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ।सेभ द चिल्ड्रेनले यस अवस्थालाई ‘अभूतपूर्व शैक्षिक आपत्काल’को संज्ञा दिएको छ ।

    बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्यांक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालय बन्द रहेका कारण विश्वभरका एक अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट वञ्चित रहेका जनाएको छ।यो संख्या विश्वको कुल विद्यार्थी संख्याको करिब ९० प्रतिशत हो ।

    सेभ द चिल्ड्रेनको प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो संख्यामा बालबालिका पहिलो पटक विद्यालय शिक्षाबाट वञ्चित रहेका छन् ।’

    अनुमानअनुसार कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटले करिब नौ करोडदेखि ११ करोड ७० लाख बालबालिका गरिबीको चक्रमा फस्नेछन्।यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्नेछ ।

    पारिवारिक समस्याले गर्दा धेरै बालबालिका काममा लाग्ने वा बालिकाको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रूपमै विद्यालय छाड्ने देखिन्छ।यस्तै यही संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेटमा करिब ७७ अर्ब डलरले कमी हुनेछ ।

    प्रतिक्रिया दिनुहोस