२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

चिश‌ंखुगढीकाे प्रकाेप व्यवस्थापन काेषकाे खर्च कति ? (सुचनासहित)

  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउँपालिकाले गाउँपालिकाको प्रकाेप व्यवस्थापन काेषमा भएका आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७६/०७७ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको हो ।

    गाउँपालिकाले गत आर्थिक वर्ष ३६ लाख ८१ हजार २० रुपैंयाको स्थानीय विपद् कोष स्थापना गरेको थियो । उक्त कोषमा जनप्रतिनिधीको एक महिनाको सेवा सुविधा कट्टा गरेर ५ लाख १६ हजार ५ सय, गाउँपालिकाका कर्मचारीबाट १ लाख ९ हजार ४९४, शिक्षकहरुको सेवा सुविधाबाट ६ लाख ३० हजार रकम योगदान गरिएको थियो ।
    त्यस्तै विभिन्न दाता, संघीय सरकार र प्रदेश सरकारबाट समेत प्राप्त अनुदान तथा केही योजनाहरुबाट कटौती गरिएको रकम समेत गरी ३६ लाख ८१ हजारको कोष निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए ।

    उक्त कोषबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत आर्थिक वर्षमा २१ लाख ५५ हजार ३९९ रुपैंया खर्च गरेको छ । जसमा राहत सामग्री खाद्यन्न लगायत खरिद तथा वितरण १२ लाख ८० हजार १२३, सामग्री खरिद तथा क्वारेन्टाइन व्यवस्थापन ६ लाख ६४ हजार ४२०, विरामी चेकजाँच तथा यातायात खर्च १८ हजार, कर्मचारीलाई प्रोत्साहन ४० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । बाँकी बजेट कोषमा रहेको छ ।

    उक्त कोषलाई कोरोनाका अतिरिक्त अन्य विपद्का घटनामा राहत तथा उद्धारका लागि समेत प्रयोग गर्ने गरि बृहत कोषका रुपमा विस्तार गरिने गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । कोषमा रकम बढाएर व्यवस्थित गरिने शर्माको भनाइ छ ।

    अन्य केही पालिकाले कोरोना खर्च सार्वजनिक गरे पनि आयको स्रोत खुलाएका छैनन् । स्थानीय तहको विपद् कोषको आय तथा व्यय शीर्षकगत रुपमा सार्वजनिक गर्ने चिशंखुगढी गाउँपालिका पहिलो पालिका हो ।

    हेर्नुहाेस् विस्तृत विवरण

     

    प्रतिक्रिया दिनुहोस