२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
रमेश उदाश

रमेश ‘उदाश’काे कविता: विधवा र उसको प्रेम

  • २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • “म तिमीलाई प्रेम गर्छु तर पनि
    म तिमीलाई मात्र प्रेम गर्दिन”

    तिमी बाहेक पनि छ मेरो कोहि अरु,
    मेरो जिन्दगीमा शामिल भएर ,
    असरल्ल यादका उपमा दिएर गएको,
    जसको लागि पनि यो धड्कन
    हरेक पल बिना हिचकिचाहट
    धड्किने गर्छ ।

    म तिमिलाई धेरै प्रेम गर्छु
    मन मस्तिष्कमा छापेकी छु ।
    नशा-नशामा रक्तसञ्चार
    बनाएर शरीरका हरेक
    कन्दराहरुमा कुदाउने गर्छु,
    मेरो जीवनको अभिन्न पाटो
    बनाएकि छु । मेरो सहयात्रा हौ
    तिमी , तिम्रो साहसले समाजमा
    सिर उठाएर हिडेकि छु ।
    बाच्ने नयाँ जोस र जाँगर
    लिएकी छु ।

    त्यो सती युगको प्रथालाई
    लत्याएकि छु तिम्रो खातिर ,
    किनकी म तिमीलाई
    अथाह प्रेम गर्छु ।
    तर ….

    तर पनि म सिर्फ तिमीलाई
    मात्र प्रेम गर्दिन
    किनकी म एउटा विधवा हुँ
    म जति तिमीलाई प्रेम गर्छु
    त्यति नै प्रेम उसलाई पनि गर्छु

    ऊ साथ नभएरै पनि
    हर पल हरेक क्षण मेरो साथमा
    हुने गर्छ, मैले फेर्ने हरेक सासमा
    बसेको छ । उसको वचन उसको
    चरित्र उसले सिकाएको मार्ग,
    उसले दिएको खुसी ,
    उसका हरेक याद हरु मेरो मनका
    भित्ता हरुमा रंगहिन भएर पनि
    रंगिन छन् ।
    म मन मनै रंगीन बनाइ राख्छु
    ती अविस्मरणीय अकल्पनिय
    यादगार का उद्बेग हरु ।

    तिमी त मेरो कल्पना हौ
    मेरो आधार हौ ,, म तिमिलाइ
    हेरेर जिउने प्रयत्न गर्छु ।
    तर ऊ बिना मेरो सास अधुरो छ

    हरेक खुसी हरेक पिडा ,बेदना
    आँसु रोदन जति कुराहरुमा
    म तिम्लाइ सम्झिन्छु त्यति नै
    ऊ पनि याद आउने गर्छ ।
    कहिले तिमी भन्दा पहिले
    याद आउँछ त कहिले
    तिमी भन्दा पछाडि

    तिमी मेरो पहिलो चाहत हौ
    तर त्यति नै उसलाई पनि चाहन्छु म

    त्यो मेरो श्रीमान जस्ले मलाइ
    हरेक नाम दिएको छ । कसैकी
    श्रीमती, कसैकी बुहारी, कसैकी
    भाउजू त कसैकी आमा ।
    उस्ले मलाई म नारी भएर
    जन्मनु को प्रामाणको छाप
    लगाएर गएको छ ।
    हरेक खुसी हरु आसपास
    छोडेर गएको छ ।
    ऊ अहिले यति फरक भएको छ
    जुन हक अधिकार म मा
    जमाउने गर्थ्यो त्यो गर्न सक्दैन
    ऊ आफ्नो हक देखाउदैन तर म
    उसलाई हक सँग मनमा राख्छु ।

    तिम्रो लागि मैले मन देखि नै
    आफुलाई समर्पित गरि दिएँ
    दिल को एउटा टुक्रा
    तिम्रो नाममा अर्पित गरि दिएँ
    साहसका साथ भन्दै छु
    यो दिल तिम्रो हो
    तिमी सँग धेरै किस्सा हरु गाढेकि छु

    म तिमिलाइ अथाह प्रेम गर्छु
    तिमी बिनाको जीवन कल्पना
    पनि गर्न सक्दिन ।मलाइ जीवन
    भरको यात्रा मा तिम्रो साथ को
    कमि हरदम महसुस हुने छ ।
    वास्तविकता यहि हो म तिमी लाई
    अनन्य अकल्पनीय माया गर्छु
    तर …
    तर पनि म तिमीलाई मात्र माया गर्दिन
    म एउटि विधवा नारी हुँ …
    आशा छ मेरो प्रेमको महत्त्व र मेरो
    बिडम्बना लाई सहजै स्विकार गर्ने छौ ।
    -इटहरी, सुनसरी ।

    प्रतिक्रिया दिनुहोस