२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

चिशंखुगढीका विद्यालयमा सुरक्षा सतर्कतासहित पठनपाठन

  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले विद्यालयमा पठनपाठनलाई नियमित गरेको छ । कोरोना संक्रमणको जोखिमकाबीच शैक्षिक शत्र सदुपयोग गर्न विद्यालयले वर्षे विदा कटौति गर्दै पठन पाठन सुचारु गरेको हो ।

    यस अघि जिल्लाभरका सबै विद्यालय दशैं तिहारको विचमा वर्षे विदामध्येबाट १५ दिन विदा हुने गरेका थिए । अन्य स्थानीय तहले यही निरन्तरता दिए पनि चिशंखुगढीले भने जोर विजोर प्रणाली अपनाएर विद्यालय सञ्चालन गरेको हो ।

    गाउँपालिकाले सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निणर्यबाट अनुकूलता हेरे कक्षा सञ्चालन गर्ने निणर्य गरेपछि विद्यालय शुचारु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताउनुभयो । उहाँले विद्यालयले अनुकुलता र सुरक्षा सतर्कता हेरि कक्षा शुरु गरेको जानकारी दिनुभयो ।

    गाउँपालिकाभित्र ४२ विद्यालय छन् । दशैं लगत्तै आइतबारबाटै सबै विद्यालय सुचारु भएका छन् । सबैजसो विद्यालयले जोर विजोर प्रणाली अपनाएर कक्षा सञ्चालन गरेका छन् । जोर बार जोर कक्षा र विजोर बार विजोर कक्षा हुने गरि दिनको २ बजेसम्म पठनपाठन हुने गरेको महेश्वर माविका प्रधानाध्यापक सन्तोषकाजी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘१ बजे खेल्ने छुट्टी छैन, सबैजसो विद्यालयले जोर विजोरै गरेर कक्षा शुरु गरेका छन् ।’

    जिल्लाका अन्य तहका विद्यालयमा दशैं तिहारको बिचमा विगतमा जस्तै बर्षे विदाबाट बचेको विदा दिइएको छ । कोरोना संक्रमणको त्रासले लामो सकय लकडाउनमा विद्यालय बन्द रहेकाले शैक्षिक क्षेत्र डामाडोल हुने अवस्था आउन नदिन सतर्ककतासहित कक्षा सञ्चालन गर्ने निणर्य गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो ।

    विद्यार्थीलाई विषयवस्तुमा केन्द्रित गर्न र गृहकार्य र स्वअध्ययनमा लगाउन पनि विद्यालय शुचारु हुनु पर्ने अभिभावकको भनाइ छ । दुर्गम गाउँ, इन्टरनेट तथा कम्युटरको पहुँच नहुने भएकाले प्रत्यक्ष उपस्थित भएर नै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाले जनाएको छ । वैकल्पिक माध्यम प्रयोग गर्न नसकिने अवस्थामा सर्तकतासहित कक्षा चलिरहेको माम्खा माविका प्रधानाध्यापक गेटप्रसाद अधिकारीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस