२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

ओखलढुंगामा घूस लिने प्राविधिक विरुद्ध काठमाण्डाैंमा मुद्दा दर्ता

  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सेवाग्राहीसँग घुस लिने प्राविधिकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौंमा मुद्दा दर्ता गरेको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ ओखलढुंगामा कार्यरत सव इञ्जिनियर राजन पासवान विरुद्ध आयोगले बुधबार मुद्दा दर्ता गरेको हो ।

    पासवानले सिद्धिचरण नगरपालिका वडा नं. १ मा खटिएको समयमा काम मिलाइदिने भन्दै भूकम्प पीडितसँग ३० हजार घूस लिएको अभियोग थियो । घूस लिएको उजुरी आएपछि आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको टोलीले पासवानलाई ३० हजार घूससहित गत असारमा रंगेहात पक्राउ गरेको थियो ।

    आयोगले अनुसन्धान पुरा गरेर आरोप पत्र दर्ता गरेको आयोगका प्रवक्ता रिसालले बताए । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १ र सोही उपदफाको ख बमोजिम बिगो तथा कैद सजाय माग गरेको छ । पुनः निर्माणमा खटिएका प्राविधिकले सेवाग्राहीसँग घुस लिएको गुनासो आइरहेको समयमा करारमा कार्यरत पासवान समातिएका थिए ।

    प्रतिक्रिया दिनुहोस