२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

विभाजनले एमालेलाई धक्का: समाजवादी र एमालेकाे तानातानमा कार्यकर्ता

  • २०७८ आश्विन ४, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नवगठित नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले)बीच कार्यकर्ता तान्ने होडबाजी देखिएको छ । जिल्लाका विभिन्न कमिटी गठन तथा भेलामा कार्यकर्ता तान्न नेताहरू जुटेका छन् ।

    नेकपा एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीले संगठन विस्तारलाई ध्यान दिएको छ भने एमालेले नेता, कार्यकर्ता पार्टीमा टिकाउने र एकीकृत समाजवादीमा जान रोक्ने अभियानमा गाउँ पसेको छ ।

    शनिबार काठमाडौंमा एमालेले सुनकोसी सम्पर्क मञ्चको भेला आयोजना गर्‍यो । त्यही बेला एकीकृत समाजवादीले चम्पादेवी सम्पर्क मञ्चको भेला कपनमा गर्दै थियो । भेलाबाट दुवै पार्टीले आफ्ना पार्टीका कार्यकर्ताहरू समेट्न कमिटी निर्माण गरे ।

    एमालेभित्रको एउटा समूह सम्पर्क मञ्चको भेलामा व्यस्त हुँदा अर्को समूह जिल्लाको चम्पादेवी गाउँपालिका पुगेको थियो । त्यहाँ अधिवेशन आयोजक कमिटी गठन गरेको छ । जिल्लाका अन्य तहमा पनि अधिवेशन आयोजक कमिटी निर्माण गर्ने तयारी छ । यस्ता कमिटीमा एमालेले धेरै संख्या देखाउन सदस्यता नै नलिएका मततालाई कमिटीमा समेटेको छ ।

    यसअघि एकीकृत समाजवादीको ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्च तथा शनिबार चम्पादेवी-काठमाडौं सम्पर्क कमिटी निर्माण भइसकेको छ । समिति भेला आयोजक भएको र त्यसले अधिवेशन आयोजना गर्ने एकीकृत समाजवादीका सचिवालय सदस्य तथा अनेरास्ववियुका सचिव दीपक फुयाँलले जानकारी दिए ।

    एकीकृत समाजवादीले असोज दोस्रो साताभित्र जिल्ला कमिटी घोषणाको तयारी थालेपछि एमालेले पालिका कमिटीहरूको अधिवेशन आयोजक कमिटी निर्माणलाई तीव्रता दिएको हो । पार्टी केन्द्रको सर्कुलर कार्यान्वयन तथा अधिवेशनको तयारीका काम सुरु भएको एमालेका जिल्ला सचिव शंकर कटवालले बताए । उनले एकीकृत समाजवादी गठन भएर एमालेमा खास असर नपर्ने दाबी पनि गरे ।

    दुवै पार्टीले आफ्नो उपस्थिति बलियो बनाउन संगठन विस्तारमा जोड दिएका छन् । नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी निर्माण भएकाले जिल्लाका सबै कमिटी तथा जनसंगठनहरूमा त्यसको प्रभाव देखिएको छ । एमाले यसअघि जिल्लामा पहिलो पार्टी भए पनि विभाजनले निकै ठूलो धक्का लागेको छ ।

    एमालेमा ३ दशकभन्दा बढी योगदान गरेका एमालेका उपाध्यक्ष नेत्र भट्टराई, मेखबहादुर खड्का, मावर सुनुवार, नरेन्द्र श्रेष्ठ, युवा नेताहरू राजन खत्री, दीपक फुयाँल सञ्जीप गुरुङलगायत  एकीकृत समाजवादी निर्माणमा लागेपछि एमालेलाई ठूलो धक्का लागेको छ ।

    समाजवादीले युवा संघ नेपालको जिल्ला कमिटी घोषणा गरिसकेको छ । एमालेमा २ जेठ २०७५ को आधार कार्यान्वयनका लागि जिल्ला कमिटी बैठक बसेर सदस्यता नवीकरण तथा वडा तथा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । – न्युज कारखना

    प्रतिक्रिया दिनुहोस