२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

बृद्ध भत्ताबाट जन्मथलोमा इ-लाइब्रेरी स्थापना

  • २०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिका ११ की ८२ वर्षीया समाजसेवी तथा होम हादुर प्रेम कुमारी ट्रष्टका संस्थापक प्रेम कुमारी श्रेष्ठले आफ्नो वृद्ध भत्ताको रकमले जन्मथलो सोलुखुम्बुको जनजागृति उच्च माध्यमिक बिद्यालयमा इ-लाइब्रेरी स्थापना गरेकी छन्। उनी सोलुखुम्बुको दोर्पु बजारमा जन्मिएकी थिइन् ।

    गत बुधबार एक समारोहका बीच इ लाइब्रेरीको स्थापना गरिएको हो। प्रेमकुमारीका  कान्छो छोरा केन्द्र श्रेष्ठले बिद्यालयका प्रधान अध्यापक मान बहादुर कार्की र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम राइलाइ इ लाइब्रेरीका सामाग्री हस्तान्तरण गरे । सो समारोहमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम राइले सोलुमै जन्मिएकी महान हृदयका दाताको तर्फबाट स्थापित इ-लाइब्रेरीले यहाहका बिद्यार्थीको पठन पाठनमा ठुलो फरक पार्ने कुरा बताए ।

    बिद्यालयका प्रधान अध्यापक मान बहादुर कार्कीले बिद्यालयमा रहेको २४ वटा कम्प्युटर मार्फत बिद्यार्थीहरुले अध्यावधिक गरिएको डिजिटल लाइब्रेरीको उपयोगबाट आफ्नो ज्ञान वृद्धिमा मद्दत पुग्ने बिश्वास व्यक्त गरे। कार्यक्रममा सोलु एफ एम संचालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठको उपस्थिति थियो।

    सो बिद्यालयमा इ-लाइब्रेरी स्थापना गर्न समाजसेवी रबिन्द्र श्रेष्ठ र नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले सहजकर्ताको भूमिका निभाएका थिए।

    दाता होम बहादुर श्रेष्ठ र प्रेम कुमारी श्रेष्ठ दम्पतिका छोरा-बुहारीहरु र छोरी-ज्वाईहरुले बुवा -आमाको नाममा बिभिन्न सामाजिक कार्य गर्ने गरेका छन्।  यसै सिलसिलामा गत बर्ष कोरोनाको महामारीमा भएको लकडाउनमा कामको अभावमा खाना नपाएर भोकभोकै परेका परिवारहरुलाई खाध्य सामाग्री वितरण समेत गरेका थिए भने स्थानीय क्याम्पस र बिद्यालयमा गरीब बिध्यार्थीहरुलाइ पढ्न मद्धत पुगोस भन्ने अभिप्रायले अक्षय कोषको स्थापना समेत गरेका छन्।

    नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिब धन कुमार श्रेष्ठका अनुसार दाता होम बहादुर श्रेष्ठ तथा प्रेम कुमारी श्रेष्ठका परिवारले आफ्नै परिवारको मात्रै लगानीमा यस अघि ओखलढुंगाको सदरमुकाममा रहेको सगरमाथा जनता उच्च मा बि मा पनि ४ बर्ष अगाडी नै इ-लाइब्रेरी स्थापना गरिसकेका छन, जुन प्रदेस १ कै दोश्रो इ-लाइब्रेरी हो। नेपाल लाइब्रेरी फाउन्डेसनको युरोप कोअर्डीनेटरको रुपमा दाता श्रेष्ठ दम्पतिका छोरा शिवजी श्रेष्ठले बिभिन्न जिल्ला ७ वटा इ-लाइब्रेरी स्थापनाको लागि संयोजनकारी भूमिका निभाएका थिए। श्रेष्ठ दम्पतीले आफ्नो बृद्ध भत्ता लाइ जम्मा गरेर इ-लाइब्रेरी बनाउने कार्यको धेरैले सह्राहना गर्नुका साथै अनुकरणीय समेत मानेका छन्।

    प्रतिक्रिया दिनुहोस