२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

जनमत पार्टीकाे दुर्व्यवहार विरुद्ध ज्ञापन

  • २०७८ कार्तिक ५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा कर्मचारीमाथि गरेकाे अमानवीय व्यवहार विरुद्ध ओखलढुंगामा कार्यरत इञ्जिनियर तथा प्राविधिक कर्मचारीले सरकारकाे ध्यानाकर्षण गराएका छन् । विभिन्न मागसहित जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएका उनीहरुले कर्मचारीकाे सुरक्षाकाे सुनिश्चित गर्न  सरकारसँग माग गरेका छन् ।

    बिहीबार जनमत पार्टीका कार्यकर्ताले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, जनकपुरधामका निमित्त आयोजना प्रमुख ईन्जिनियर राजेश कुशवाहमाथि दुर्व्यवहार गरेका थिए । कार्यलयबाटै अर्धनग्न बनाइ निकालेर नगर घुमाएका थिए ।

    ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीलाई बुझाएकाे ज्ञापन पत्रमा ‘देशमा कानून र राज्य हुँदाहुँदै कानून तथा वार्ताको माध्यमबाट कुनै समस्याको समाधान खोज्नु पर्नेमा उदण्डता र अराजकताको पराकाष्ठा नाघ्दै कानून हातमा लिएर उच्छृङ्खल गतिविधि गरि एक राष्ट्रसेवक कर्मचारी माथि गरिएको दुर्व्यवहारपूर्ण घटना क्षम्य हुन नसक्ने’ उल्लेख छ ।

    जनमत पार्टीका प्रमुख राउतसहित घटनामा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरी कडाभन्दा कडा कारवाही गर्न  माग गरिएकाे छ ।  पेशागत रुपमा ईन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख सिके राउतको यस्तो कदमले ईन्जिनियर पेशाको गरिमा र  मर्यादा हनन् भएको भन्दै उनीहरुले राउतको नेपाल ईन्जिनियरिङ परिषदको दर्ता प्रमाणपत्र तत्काल खारेज गर्न  पनि माग गरेका छन् ।  दाेषिमाथि कारवाही नभए कडा कदम चालिने उनीहरुकाे चेतावनी छ ।

    प्रतिक्रिया दिनुहोस