२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

स्वास्थ्य सँस्थाहरूमा स्थलगत अनुगमन गर्दै विश्वव्यापी सञ्जाल

  • २०७८ पौष ३, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा – विश्वव्यापी ओखलढुंगे सञ्जालले जिल्लाको स्वास्थ्य संस्थाहरुमा अनुगमन शुरु गरेको छ । जिल्लाको प्रत्येक स्वास्थ्य संस्थामा सञ्जालले कोभिड संकटको बेला स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेको थियो । सो सामग्री स्वास्थ्य संस्थामा पुगे नपुगेको र प्रयोगको अवस्थाबारे स्थलगत अनुगमन थालेको ओखलढुंगा जिल्ला समाज युकेका अध्यक्ष नारायण गुरुङले बताए ।

    अधिकांश स्थानीय तहले बुझेर लगेको स्वास्थ्य सामाग्री र उपकरण अझै स्वास्थ्य चौकीहरुमा पुगेको छैन । कतिपय सामाग्री पुगेर पनि प्रयोग विहीन अवस्थामा छन् । यसमा स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित निकायका कर्मचारी गैरजिम्मेवार रहेको देखिएको छ । बिहिबार र शुक्रबार सञ्जालको टोलीले मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाको विभिन्न स्वास्थ्य चौकीहरुमा अनुगमन गरेको छ ।

    अनुगमन टोलीमा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, ओखलढुंगा जिल्ला समाज युकेका अध्यक्ष नारायण गुरुङ, ओखलढुंगा सेवा समाजका कोरियाका पूर्व अध्यक्ष श्रीराम तमु, बालकृष्ण श्रेष्ठ, पत्रकार कुम्भराज राई लगायत छन् । अनुगमन सबै स्थानीय तहमा पुगेर गरिने विश्वव्यापी सञ्जालले जनाएको छ ।

    सञ्जालले जिल्लाको प्रत्येक स्वास्थ्य संस्थालाई साधारण बेड, ४० लिटरको उपकरण सहितको अक्सिजन सिलिन्डर, अक्सिमिटर, थर्मल गन लगायतका सामाग्री उपलब्ध गराएको थियो । त्यसैगरि जिल्ला अस्पताल रुम्जाटार, मिसन अस्पताल ओखलढुंगालाई आईसियु बेड उपलब्ध गराएको थियो । संसारभर रहेका ओखलढुंगेले रकम संकलन गरि कोभिड १९ विरुद्ध विश्वव्यापी ओखलढुंगे सञ्जाल मार्फत करिब ७० लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस