२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
ओखलढुंगा एमाले अधिवेशन

एमालेका काे उम्मेदवार कस्ता, कस्ले मार्ला बाजी ?

  • २०७८ पौष २५, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढु‌ंगा- नेकपा एमाले ९ औं जिल्ला अधिवेशनसम्म आइपुग्दा निर्वाचनकाे प्रकृयाबाट नेतृत्व चयन अघि बढेकाे छ । निर्वाचन समितिले सहमतिका लागि समय दिएर मतदानकाे कार्यतालिका सार्वजनिक गरेकाे छ ।

    सहमतिका लागि प्रयास हुने भए पनि त्यसले खास अर्थ नराख्ने नेताहरुकाे समुहगत ध्रुविकरणबाट प्रष्ट छ । जिल्ला अध्यक्षमा सिताराम गुरुङ र शंकर कट्वालकाे उम्मेदवारी छ । उपाध्यक्षमा संविधान सभाका सदस्य हर्कबाेल राई र रञ्जित धमला उम्मेदवार छन् । सचिवमा तीर्थराज सुवेदी र कमल न्याैपाने तथा उप सचिवमा पाँच जना मैदानमा छन् ।

    काे कस्ता नेता ?

    गुरुङ एमालेकाे केन्द्रीय विभागमा ६ वर्ष काम गरेका उनी लामाे समय जिल्ला कमिटीमा बसेर काम गरेका नेता हुन् । २०५१ सालमा रुम्जाटार गाविसकाे पार्टी कमिटीकाे संयाेजक थिए । २०५४ मा गाविस अध्यक्ष भएर पाँच वर्ष स्थानीय तहमा काम गरेका  नेता गुरुङ् एमालेमा सैद्धान्तिक रुपमा अब्बल मानिन्छन् ।

    उनलाई ओलि समुहका किशाेर अधिकारी र माेहन श्रेष्ठ तथा १० बुँदे पक्षधर संघीय सांसद यज्ञराज सुनुवार र पूर्व सांसद हर्कबाेल राईकाे साथ छ । एमालेभित्र ओलिगुटकाे शक्तिशाली खेमा र १० बुँदे पक्षधर नेताहरुकाे साथ पाएका उनी सहज रुपमा निर्वाचन जित्ने दावी गर्छन् ।

    २०५४ सालमा ठूलाछाप गाविसकाे अध्यक्ष भएका कट्वाल जिल्ला कमिटी सचिव हुन् । उनी अघिल्लाे अघिवेशनमा पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनुवारकाे समर्थनमा सचिव बनेका थिए ।

    अहिले अम्वीर गुरुङका विश्वास पात्रका रुपमा अध्यक्षकाे प्रतिस्पर्धामा छन् । उनलाई पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलकाे पनि साथ छ । ढुंगेल अहिले एमालेका पाेलिटव्यूराे सदस्य हुन् ।

    कार्यकर्तामाझ मिजासलाे स्वभावका साथ सरल रुपमा प्रस्तुत हुने कट्वाललाई बालकृष्ण र अम्वीरले साथ दिदा ओलि समुहका धेरै नेता कार्यकर्ताहरुले यज्ञराज सुनुवार समेतकाे समर्थनमा सिताराम गुरुङ  अघि सार्दा  चुनाव निकै राेचक हुने देखिएकाे छ ।

    उपाध्यक्षमा संविधान सभाका सदस्य तथा पूर्व जिल्ला कमिटी उपसचिव हर्कबाेल राई छन् । उनीसँग रञ्जित धमला भिड्दैछन् । सचिवमा यस अघि सचिवालय सदस्य र प्रचार विभाग प्रमुख रहेका अधिवक्ता तिर्थराज सुवेदी र जिल्ला सदस्य कमल न्याैपाने मैदानमा छन् ।

    सुवेदीलाई यज्ञराज किशाेर माेहन लगायतकाे समर्थन छ भने न्याैपानेलाई अम्बीर गुरुङले अघि सारेका छन् । उप  सचिवमध्ये हालका उपसचिव मणिराज राई सिताराम पक्षका र केशब र अशाेक कट्वाल  पक्षका हुन् । अन्य प्रष्ट भइसकेका छैनन् ।

    जिल्ला सदस्यहरुमा पनि धेरै आका‌ंक्षी भएकाले सहमति कठिन छ । अपराह्न ४ बजे मतदानकाे समय ताेकिएकाे छ । विधानमा गुटगत टिम बनाउन नपाइने भनिए पनि कट्वाल समुहका पदाधिकारीले प्यानलै भाेट माग्न थालेका छन् । सिताराम पक्षधरले पनि साेही अभ्यास शुरु गरेका छन् ।

    कस्ले मार्ला बाजी ?

    एमालेकाे कार्यकर्ता तहबाट नेतृत्व छान्न भएकाे याे पहिलाे निर्वाचन हाे । यस अघि नेताहरुले पदाधिकारी घाेषणा गर्ने चलन थियाे । पहिलाे पटक लाेकतान्त्रि अभ्यास थालेकाे एमालेले कत्तिकाे स्वच्छ प्रतिस्पर्धा गराउन सक्छ हेर्न बाँकी छ । राति निर्वाचन हुने भएकाले इमान्दार कार्यकर्ताहरुले भने पैसाकाे चलखेल समेत हुन सक्ने आशंका गरेका छन् ।

    चुनावमा कुन समुह मजबुद छ  र कस्ले जित्छ भन्ने काैतुहल भए पनि यकिन गर्न सकिने अवस्था छैन । यद्यपी कार्यकर्ताकाे मनाेविज्ञान भने अराजक र तडक भडक गरेर गाउँका कार्यकर्तालाई नेता कार्यकर्ताकाे जस्ताे व्यवहार नगर्नेका नेताहरुका  विपक्षमा मतदान गर्ने रहेकाे पाइन्छ ।

    नेताहरुकाे टकरावका कारण पनि उम्मेदवार बलिकाे बाेकाे बन्ने अवस्था छ । कार्यकर्तालाई दास ठान्ने प्रवृति विरुद्ध एमालेकाे याे अधिवेशनमा मतदान मार्फत प्रकट हुन सक्ने धेरैकाे अनुमान छ ।

    ओलिगुटका नेताहरु दुइ पक्षमा विभाजित भएकाले दुवै प्रतिस्पधीलाई चुनाैति चाँही छ । पूर्व माओवादी खेमा जाेडीएकाे समुहप्रति पनि कार्यकर्ता रुष्ट पाइएकाे छ । विगतकाे व्यवहारले बालकृष्ण ढुंगेलप्रति भने एमाले मतदाता अनुदार रहेकाले उनले समर्थन गर्ने उम्मेदवारलाई मनबाटै नरुचाइएकाे एमाले बृत्तमा चर्चा पनि छ । त्यस्तै गुलामी नगर्ने कार्यकर्ताहरुलाई गरिने व्यवहारका कारण अम्वीर गुरुङप्रति धेरै स्थानीय कार्यकर्ता रुष्ट देखिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस