२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

संसदीय निर्वाचन: सिट बाँडफाँट गर्न गठबन्धनमा कार्यदल

  • २०७९ श्रावण २१, शनिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं- सत्ता गठबन्धनले साउनभित्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँटको खाका तयार गर्न कार्यदल गठन गरेको छ। बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेलसहित सिट बाँडफाँट गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।

    कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा कार्यदलका सदस्य तोकिएका छन्।

    माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनलाई राखिएको छ। नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल छन्। जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

    सरकारले बिहीबारमात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन्। गठबन्धनभित्रै पनि सबै सिटमा गठबन्धन गरेर जाने नजाने भन्नेबारे सहमति भइसकेको छैन।

    सिटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन्। ‘सिट बाँडफाँटका विषयमा अब बल्ल छलफल सुरु हुन्छ’ पौडेल भन्छन्।

    प्रतिक्रिया दिनुहोस