२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

विना जानकारी निष्काशन गरिएका पत्रकारको पुनःबहालीको माग

  • २०७९ भाद्र १७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  जिल्लाको एक रेडियोमा कार्यरत पत्रकारलाई विना जानकारी हटाएको विषयमा पेशागत संघ संगठनले विरोध जनाएका छन् । मानव विकास तथा सामुदायिक सेवाद्वारा ओखलढुंगा जिल्लामा सञ्चालित आफ्नो एफ. एम. १०४.८ मेघाहर्जमा कार्यरत समाचार प्रमुख रामहरि श्रेष्ठलाई सो रेडियोले बिना जानकारी भदौ १५ गते निष्काशन गरेको पत्र थमाएको थियो ।

    उक्त घटनाको नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई विना सर्त तत्काल पुनर्वहाली गरी सम्मानपूर्वक रुपले काममा फर्कने वातावरण मिलाउन माग गरेका छन् । विज्ञप्तिमा भदौ १० गतेको मितिमा लेखिएको अवकाश पत्र भदौ १५ गते साँझ दिएर निष्काशन गरिएको घटनाप्रति संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    ‘विगत ७ वर्षदेखि निरन्तर कार्यरत निज श्रेष्ठलाई सो संस्थाले २०७९ साउन १ गतेदेखि लागु हुनेगरी १ वर्षका लागि २०८० असार ३१ सम्मको करार अवधि नवीकरणसहित नियुक्ति गरिएकोमा सफाइको मौका नदिइ अचानक हटाइन दुराषयपूणर् रहेको संगठनहरुले ठहर गरेका छन् । नियुक्तिपत्रमा उल्लेख भएको सेवा, शर्त, सम्झौता तथा श्रमजीवी पत्रकार ऐन विपरित सुनुवाईको अवसर समेत नदिई प्रतिशोधपूर्ण ढंगले आकस्मिक रुपमा हटाइनु श्रमजीवी पत्रकार ऐन २०५१ संशोधनसहित २०७५ को दफा २० र २२ विपरित भएको विज्ञप्तीमा उल्लेख छ ।
    श्रमजीवी पत्रकारहरुको हकहीत, सुरक्षा र न्यायिक उपचारका लागि नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण गराउँदै श्रमजीवी पत्रकारको हकहीत र पेशागत सुरक्षाका कदम चाल्न माग गरेका छन् ।

    आफुलाई अन्याय भएको भन्दै पत्रकार श्रेष्ठले महासंघले यसबारे बोल्नु पर्ने र आफुले घटनाबारे जानकारी गराएको बताए । उनलाई हटाइएको पत्रमा कोभिडका कारण खर्च कटौटी गर्न हटाइएको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस