२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

नेपालीहरुबीच भावनात्मक एकिकरण आवश्यक: राजेश अहिराज

  • २०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले मधेश र पहाडको भावनात्मक एकिकरण आवश्यक भएको बताए । भूगोलसँगै भावनाको एकिकरण हुन जरुरी भएको उनको भनाई छ ।

    रैथाने एकता परिषद्को व्यानरमा अहिराज अचानक ओखलढुंगा आइपुगे । पृथ्वीनारायण शाहले भौगोलिक एकिकरण गरे पनि नेपालीहरुको भावनात्मक एकिकरण आवश्यक भएको भन्दै अहिराज देश दौडाहामा छन् ।

    ७४ औं जिल्ला भ्रमणका क्रममा ओखलढुंगा आएका उनले युगकवि सिद्धिचरण श्रेष्ठको शालिकमा माल्यार्पण गरे, ढोगे र मधेश प्रदेश र पहाडको सेतुका रुपमा सिराहामा तोडिएको श्रेष्ठको शालिक पुनःस्थापना गर्ने कशम खाए ।

    मधेश आन्दोलन ताका सिरहाको मिर्चैयामा तोडिएको सिद्धिचरणको शालिक पुनः निर्माणको अभियानमा रहेको रैथाने एकता परिषद्का अध्यक्ष विजय थापाले तोडिएको शालिकको फोटो अहिराजलाई हस्तान्तरण गरेका थिए । परिषद्को अगुवाइमा मिर्चैयामा शालिक पुनःस्थापना गर्ने तयारी छ ।

    यो अभियानलाई साथ दिने मात्र नभइ युगकविको शालिक तोडिदा मधेशको शिर निहुरिएको भन्दै डा. अहिराजले एउटाको सट्टा दुई वटा शालिक निर्माण गरेर क्षतिपूर्ति दिइने सन्देश दिए । उनले ओखलढुंगामा सम्बोधन गर्दै भने, ‘भूगोलको एकिकरण भयो, अब देशमा भावनाको एकिकरण जरुरी छ ।’ नागरिक स्तरमा विभदेको सोच नभएको र नेतृत्व तहबाट यस्तो सोच हटाइनु पर्नेमा उनले जोड दिए ।

    देश कमजोर बनाउने जात-जात, धर्म-धर्म र समुदाय-समुदायका विचमा नागरिकलाई भिडाउने काम भएकाले सामाजिक सद्भाव र एकता कमजोर भएको उनको निष्कर्ष छ । यस्तो विभेद हटाएर मधेश र पहाडबीचमा भावनात्मक एकता ल्याउन आफ्नो देश दौडाहा अभियान रहेको मधेश मामिलामा विद्यावारीधि समेत गरेका अहिराजले बताए ।

    पहाड र मधेशको भावना जोड्न तोडिएको शालिक पुनःस्थापनाले योगदान गर्ने भएकाले डा. अहिराजको सहयोगमा रैथाने परिषद्ले अभियान थालेको अध्यक्ष थापाले बताएका छन् ।

    जिल्ला आएका अहिराजलाई सिद्धिचरण नगरपालिकाका पूर्व मेयर मोहन श्रेष्ठ, नेकपा एमालेका नेता किशोर अधिकारी, सिद्धिचरण संग्राहालय समितिका अध्यक्ष धु्रब राजभण्डारीले स्वागत गरेका थिए भने पत्रकार कुम्भराज राईले आफ्नो कृति ओखलढुंगा तथ्य र इतिहास पुस्तक अहिराजलाई हस्तान्तरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस