२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पशु बीमामा ठगिँदै किसान

Thumbnail
  • २०७९ माघ २०, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका १ तलुवाका महेन्द्र श्रेष्ठले दुहुना भैंसीको बीमा गर्न बीमा कम्पनीका प्रतिनिधि बोलाए । नेपाल इन्स्योरेन्स कम्पनीका प्रतिनिधि आएर भैंसी हेरिसकेपछि एक लाख बराबरको मूल्यांकन गरे । तर कम्पनीले एकलाखको हैन ९० हजारको मूल्यांकन गर्न सकिन्छ भने । गएको साउनमा बीमा गरे ।

    भैंसी ब्याउने थियो । अचानक कात्तिक ७ गते भैंसी फ्याट्टै मर्‍यो । तिहारको बेला भैंसी मरेपछि कागजात, फोटो, भिडियो तीनदिन भित्रै बुझाउन समस्या भयो । बिदाको बेला कम्पनीको कार्यालय बन्द हुने भएकाले अनेक दुख गरेर प्रक्रिया पुरा गरे । बीमा रकम भुक्तानीको निवेदन दिए । ९० हजार बिमांकको ९० प्रतिशत रकम ८१ हजार पाउनुपर्नेमा कम्पनीले ६३ हजारको मात्र चेक बनाएको थाहा पाए ।

    कम्पनीको कार्यालयमै गएर आफूले बीमांकको ९० प्रतिशत पाउनुपर्ने दाबी गरे । मञ्जुरीनामामा हस्ताक्षर गरेनन् । त्यसपछि एउटा निवेदन लेखेर छोड्नु हामी बीमा प्राधिकरणमा पठाउँछौ भनेर आश्वासन पाए । निवेदन लेखेर छोडे । तर त्यसको दुईतीन दिनपछि कार्यालयबाट फोन गरेर तपाईंको पैसा त्यति भन्दा नआउने भयो । आएर हस्ताक्षर गरेर गईदिनुस् हामी खातामा हाल्दिन्छौं भने । कुनै हालतमा त्यो भन्दा बढी पैसा नपाइने भए ठिकै छ भनी महेन्द्रले हस्ताक्षर गरे ।

    एक साताअघि उनको खातामा पैसा आयो । ‘किन यसो भयो भनेर प्रश्न गर्दा तपाईंको भैंसीको मूल्याकंन केन्द्रबाट ७० हजार बराबरको मात्र भयो त्यही भएर तपाईंलाई ९० हजार बीमांकको रकम दिन सकेनौं भने ।’ महेन्द्रले भने, ‘हामीलाई नेपाल इन्स्योरेन्स कम्पनीले यसरी सरासर ठगी गर्‍यो ।’

    तलुवाकै हर्कबहादुर घिमिरेको १५ हजार बराबरको बीमा गरेको एउटा बाख्रा गएको कात्तिकमै मर्‍यो । उनले महेन्द्र श्रेष्ठले झैं सबै प्रक्रिया पुरा गरेर बीमा भुक्तानीको दाबी गरे । उनलाई पनि ठ्याक्कै महेन्द्रलाई जसरी नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारीले जवाफ दिए । महेन्द्रसँगै कार्यालयमा गएर निवेदन दिए । तर निवेदनको सुनुवाई भएन ।

    ‘जति मूल्यांकन अनुसारको पैसा आएको छ त्यसैमा हस्ताक्षर गर्दिनुस् नत्र त्यही पैसा पनि पाउनुहुन्न भन्यो ।’ हर्कबहादुरले भने, ‘त्यसपछि गएर हस्ताक्षर गरें । जम्मा १० हजार आठ सय मात्र पैसा दियो ।’ जबकी उनले गरेको बीमा सम्झौता अनुसार १३ हजार पाउनुपर्ने हो ।

    महेन्द्र र हर्कबहादुर दुई उदाहरण मात्र हुन् । नेपाल इन्स्यारेन्स कम्पनीले थुप्रै किसानहरुलाई यसरी ठगी गर्दै आएको छ । यस विषयमा कम्पनीका ओखलढुंगा शाखा प्रमूख भूपेन्द्र पराजुलीले क्षति मूल्यांकन समितिले गरेको मूल्यांकनको आधारलाई मानेर त्यसको ९० प्रतिशत भूक्तानी गरेको बताए ।

    ‘पशु बीमा गरेको अधिकतम् ९० प्रतिशत सम्म मात्र भुक्तानी गर्ने भन्ने प्रावधान हुन्छ । किसानले जति मूल्य बराबरको बीमा गरेको हो त्यसैलाई सही मानिँदैन । हाम्रो क्षति मूल्यांकन समितिले रिपोर्ट हेरेर स्थानीय बजार मूल्यको आधारमा मूल्यांकन गर्छन् ।’ पराजुलीले भने, ‘त्यसको आधारमा हामीले किसानलाई भुक्तानी दिने गर्छौं ।’

    निर्जिवन बीमा कम्पनीहरुको नियमक निकाय बीमा प्राधिकरणले कुनैपनि बीमा कम्पनीले किसानलाई त्यसरी बीमांकको भुक्तानी नदिनु सरासर गलत भएको बताउँछन् । ‘क्षति मूल्यांकनका लागि प्रत्येक जिल्लामा मूल्यांकनकर्ता हुन्छ । त्यसले क्षतिको आधारमा अध्ययन गरेर मूल्यांकन गर्नेगर्छ । त्यो ठूलो परिमाणको बाली र पशु बीमामा मात्र हुन्छ ।’ बीमा प्राधिकरणका उपनिर्देशक तथा सुचना अधिकारी निर्मल अधिकारीले भने, ‘शुरुमै कम्पनीको प्रतिनिधिले मूल्यांकन गरेर बीमा गरिसकेपछि त्यो पशुको बीमांकको ९० प्रतिशत रकम अनिवार्य कम्पनीले दिनुपर्छ । यदि त्यसरी दाबी भुक्तानी नदिइएको रहेछ भने त्यो कम्पनीले गलत गरिरहेको छ ।’

    त्यस्ता कम्पनी विरुद्ध प्रमाण सहित उजुरी आएमा कारबाही गरिने अधिकारीले बताए । जिल्लाभित्र चारवटा निर्जिवन बीमा कम्पनी छन् । आईएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनी छन् । त्यसमध्ये सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पशु बीमा गर्दै आएको छ । शिखर इन्स्योरेन्सले भने जिल्लामा हालसम्म पशु बीमाको काम गरेको छैन ।

    आईएमई जनरल इन्स्योरेन्स कम्पनीका शाखा प्रमूख खुरहरि दाहालले आफ्नो कम्पनीले हालसम्म पाँच लाख भन्दा कम क्षति मूल्यांकन भएका पशु किसानहरुलाई बीमांकको ९० प्रतिशत भुक्तानी गर्दै आएको बताए । ‘पशु बीमा निर्देशिकामै किसानले ९० प्रतिशत पाउने भनिएको छ ।’ उनले भने, ‘यसमा गडबडी गर्नु मिल्दैन ।’

    प्रतिक्रिया दिनुहोस