२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
खण्डवृष्टि र लम्पी स्कीनको प्रभाव

असार १५ मा १९ प्रतशत मात्रै राेपाइ

  • २०८० अषाढ १५, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ओखलढुंगा- रोपाइको सिजन घर्किने बेला हुनै लाग्दा ओखलढुंगाका किसानले भने धान रोप्न पाएका छैनन् । एकातिर खण्डवृष्टिले धेरै ठाउँमा प्रयाप्त पानी छैन भने अर्कातिर लम्पी स्कीनको प्रकोप जिल्लाभर फैलिएको छ । रोपाइमा जोत्न प्रयोग हुने किसानका गोरु थला परेका छन्

    यही कारण ओखलढुंगामा असार १५ बित्दा १९ प्रतिशत मात्रै रोपाइ भएको छ । जिल्लामा चार हजार चार सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको थियो । हालसम्म जिल्लाको सिद्धिचरण नगरपालिकामा १५ प्रतिशत, सुनकोशीमा १५, चम्पादेवी १८, लिखुमा २८ खिजीदेम्बामा ३०, मोलुङ २५, मानेभञ्ज्याङ र चिशंखुगढीमा पनि १५ प्रतिशत मात्रै रोपाइ भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

    नदी किनाराका खेतहरुमा मात्रै रोपाइ भएको छ । आकाशे पानीमा निर्भर हुने पाखा खेतमा रोपाइ शुरु नै भएको छैन । गत बर्ष असार १५ सम्ममा जिल्लामा ३० प्रतिशत रोपाइँ भएको थियो । पर्याप्त बर्षा नभएका कारण रोपाइँ ढिलो भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।
    अर्कातिर गोठका गोरु विरामी भएर थला परेका र कति मरेका कारण किसानले समयमा धान रोप्न नसक्ने अवस्था रहेको छ । हालसम्म जिल्लामा ६ हजार ७ सय ९४ गोरुगाइ विरामी भएका छन् भने २१ मरेका छन् ।

    धेरैजसो जोत्ने सिजनमा गोरु विरामी भएका कारण किसानलाई समस्या भएको कृषि ज्ञान केन्द्रका टिका बानियाले बताए । उनले एकातिर पानी पर्याप्त नहुने र अर्कातिर गोरु विरामी भएर गाउँमा आलो पालो रोपाइ चलाउनु पर्ने अवस्था रहेको जनाए ।

    अधिकांश किसानका गोरु विरामी परेपछि एक हजार पाँच सयसम्म पाइने हली गोरु अहिले २ हजार ५ सयमा पनि पालो कुर्नु पर्ने अवस्था छ । सुगमका केही किसानले भने मिनी टिलर किनेर पनि रोपाइ थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस