२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

काेराेनाका कारण शुक्रबार ११ बजेसम्म ५ जनाकाे मृत्यु

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सुनसरी, मोरङ र सप्तरीमा थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

    इटहरी उप महानगरपालिका- ६ का ६८ वर्षीय वृद्ध शुक्रबार बिहान १२:३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यस्तै प्रतिष्ठानमा उपचाररत दुहवीका ५२ वर्षीय संक्रमित पुरुषको पनि बिहान २ बजेतिर मृत्यु भएको छ । डा.श्रेष्ठका अनुसार मृतकमा मृगौला सम्बन्धी समस्या पनि थियो । कोराना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका पुरुषको मृत्यु भएको हो ।

    मोरङमा पनि दुईको मृत्यु

    मोरङमा उपचारका क्रममा दुई जना र सप्तरीमा एक जनाको मृत्यु हो । मोरङमा मृत्यु भएका एक जना मोरङकै रंगेलीका हुन् भने एक जना सुनसरीको धरानका हुन् ।

    संक्रमित दुबै पुरूषको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

    दाहालका अनुसार मोरङको रंगेली नगरपालिका– ४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति साढे ९ बजे मृत्यु भएको हो । बुधबार बिहान अस्पताल ल्याइएका वृद्धको आइसोलेसनमा उपचार भइरहेको थियो ।

    यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ बजेतिर मृत्यु भएको उनले जानकारी दिए । श्वासप्रश्वासनमा समस्या भएका तथा फोक्सोमा संक्रमण देखिएका ती पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो ।

    सप्तरीको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धको पनि कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस