२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

मेरा पिकमा पहिलो पटक ‘स्की’ अभ्यास (भिडियाेसहित)

  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- छ हजार मीटर भन्दा माथीको उचाईमा रहेको सोलुखुम्बुको मेरा पिकमा स्की को सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडेमी) को आयोजना र रिफ्युजी मेरा लजको व्यवस्थापनमा मेरा पिकमा स्की खेलको सम्भाव्यता अध्ययन गरेको हो ।

    एकेडेमीका दुईजना स्की प्रशिक्षकले गत साता मेरा पिकको शिखर ६ हजार ४ सय ६७ मीटरको उचाईदेखि बेस क्याम्प सम्म स्की अभ्यास गरे । ‘सोचेको भन्दा पनि धेरै राम्रो सम्भावना देख्यौं’ एकेडेमीका स्की प्रशिक्षक छिरिङजाङबु शेर्पाले भने, ‘अब यहाँ लेभल थ्री (तेश्रो तह) को स्की प्रशिक्षणका लागि तयारी गरेका छौं, मेरा पिकमा शरदकालीन मौसम स्कीका लागि उपयुक्त हुने देखियो ।’

    मेरा पिकमा स्की सम्भाव्यता अध्ययन गर्न पुगेका नेपाल माउण्टेन एकेडेमीका प्रशिक्षकहरु । सौजन्यः- छिरिङजाङबु शेर्पा

    करिब तीन किलोमीटर चौडाईमा स्की गर्न सकिने स्की प्रशिक्षकहरु छिरिङजाङबु र पेम्बाग्याल्जे शेर्पाले बताए । कुनै बेला मेरा पिकको क्षेत्रमा क्रिभास (हिमखाडल) हरु देखिने गरेकोमा यसपटक एकदमै राम्रो पेलेर राखेको हिउँजस्तो देखिएको उनीहरुले बताए ।
    नेपालमा अग्लो हिमालमा स्कीको सम्भावना रहेको डोल्पो क्षेत्रमा रहेको पुथा हिउँचुलीलाई मानिन्छ । जुन ७ हजार २ सय ४६ मीटर उचाईको हिमाल हो । त्यसपछि मेरा पिक नै सबैभन्दा उत्तम हिमाल हुनसक्ने पा“च वर्षदेखि स्की प्रशिक्षण लिने र प्रशिक्षकको काम गर्दै आएका छिरिङजाङबुले बताए ।

    माउण्टेन एकेडेमीले लेभल वान (पहिलो तह) को स्की खेल सम्बन्धि प्रशिक्षण दोलखाको कालिन्चोकमा संचालन गर्ने गरेको छ । लेभल टु को तालिम फ्रान्स र स्वीजरल्यान्डमा गर्ने गरिएको छ । अब लेभल थ्रीका लागि भने मेरा पिकमा गर्नका लागि आवश्यक सम्भाव्यता अध्ययन थालिएको हो । त्यसका लागि जिपिएसले मापन गर्ने, सम्भावित क्षेत्रलाई मार्किङ (चिन्ह अंकित) गर्ने काम गर्ने काम थालिएको एकेडेमीले जनाएको छ ।

    नेपालमा लेभल टु सम्मका स्की तालिम लिएका धेरै भएपनि लेभल थ्रीको तालिम लिएका थोरै संख्यामा मात्र छन् । त्यसैले लेभल टु का तालिम लिएकालाई अबको केही महिनामै मेरा पिकमा लिएर स्की खेलको अभ्यास गर्ने तयारी माउन्टेन एकेडेमीको छ । मेरा पिक काठमाण्डौं पुगेर फर्किन १० देखि १२ दिनको यात्रा अवधि लाग्ने गर्छ ।

    अभ्यासकाे भीडियाे हेर्नुहाेस् 

    प्रतिक्रिया दिनुहोस