२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पिच उप्काउँदै जनप्रतिनिधिले सोधेः यो के गरेको ?, ठेकेदारले भने: ‘अब खाल्डा पुरिन्छन् !’

  • २०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ठेक्का लिएर योजना अलपत्र पार्ने निर्माण व्यवसायीविरुद्ध ओखलढुंगाका जनप्रतिनिधि ‘एक्सन’मा उत्रिएका छन् ओखलढुंगाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख र सिद्धिचरण नगरपालिकाका नगरप्रमुख कामचोर ठेकेदारविरुद्ध एक्सनमा गएका हुन् ।

    उनीहरूले ओखलढुंगा-रामपुर सडक कालोपत्रेको अनुगमन गरेर गुणस्तरहीन काम गरेको पाइए कारबाही गर्ने चेतावनी दिए । ओखलढुंगा रुम्जाटार खण्डमा भत्किएको कालोपत्रे सडक अनुगमनपछि तोकिएको समयभित्र गुणस्तरीय मर्मतको काम नगरे कारबाही गर्ने कागजै गराएका छन् ।

    कतै काम अलपत्र छाड्ने, कतै गुणस्तरहीन काम गर्ने ओखलढुंगा-रुम्जाटार सडक कालोपत्रे गर्ने जिम्मा पाएको तामाङ कन्ट्रक्सनका प्रतिनिधि खोज्दै प्रदेश सांसद मोहन खड्का, सिद्धिचरण नगरपालिकाका नगरप्रमुख मोहनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलसहित बुधबार बिहानै कम्पनीको क्याम्प पुगेका संघीय सांसद यज्ञराज सुनुवारले ठेकेदारका प्रतिनिधिलाई डिबीएस्टी पिच हातले उप्काउँदै ‘यो के गरेको’ भनेर झपारे ।

    ओखलढुंगा-रुम्जाटार ११ किलोमिटर सडक कालोपत्रे गरेको एक वर्ष नबित्दै प्रायः सबै जस्तो पिच उप्किएको छ । एक वर्ष अवधि मर्मत गर्ने भए पनि नगरेपछि बर्खा हुँदा हिलोका कारण गाडी फस्छन् । पटकपटक भने पनि अटेर गरेपछि सांसद सुनुवारले क्याम्पमै पुगेर झपारेका हुन् ।

    गुणस्तरहीन काम गरेकाले एक वर्षमै रुम्जाटार सडकको कालोपत्रे उप्किएको छ । उक्त सडक मर्मत तथा पूरै भत्किएको ठाउँमा पुनः कालोपत्रे गर्न, मर्मत गर्ने ठाउँमा तत्काल पूरा गर्न र काम नगरे कानुनी कारबाही गर्ने कागज गराएका छन् ।

    अनुगमन गरेर फर्किएका सांसद सुनुवारले भने, ‘काम गर्न सचेत गराएर कागज गराइएको छ । दुवै सडकको काम समयमा नगरे कारबाही गर्न निर्देशन दिइएको छ ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का लगाएको उक्त सडक अहिले जीर्ण भएको छ । यस्तै, ओखलढुंगा-रामपुर सडकसमेत काम समयमा सकिएको छैन ।

    दुवै आयोजना म्याद थपिएको समय सम्पन्न गर्न अन्यथा खरिद ऐनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख रीता लम्सालले बताइन् । उनले भनिन्, ‘माननीयहरूसमेत बसेर कागज गराइएको छ । काम नगरे कारबाही हुन्छ । निरन्तर अनुगमन गर्छौं ।’

    भिडियाे हेर्नुहाेस् 

    प्रतिक्रिया दिनुहोस