२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

मोलुङका किसानलाई निशुल्क कृषि औजार र बिउ

  • २०७७ मंसिर ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मोलुङ गाउँपालिकाले व्यावसायिक तरकारी खेती गरिरहेका किसानहरूलाई अनुदानमा बिउ तथा कृषि औजार वितरण गरेको छ । वैदेशिक रोजगरीबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले हेल्भेटासको परियोजना ‘नेपाल कृषि सेवा विकास कार्यक्रम’ (प्रयास) को अनुदान सहयोगमा तरकारी खेतीतर्फ विउ तथा कृषि औजार वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख शान्तिलाल सापकोटाले जानकारी दिए ।

    विदेशबाट फर्किएकामध्ये ३२ जनालाई बेमौसमी तरकारीका लागि प्लाष्टिक टनेल, त्यस्तै, बंगुर पालनमा २० जनलाई पाठा र खुवाउने दाना, च्याउ खेतीतर्फ १६ जनालाई बिउ तथा आश्यक उपकरण दिइएको छ । ४० घरलाई विभिन्न प्रकारका तरकारीको बिउ बीजन दिइएको छ । हाटबजारमा वैज्ञानिक नापतौलको व्यवस्थापनका लागि गाउँपालिकाभित्र लाग्ने चारवटा हाटबजारका लागि चारवटा डिजिटल तराजु राखिएको छ । अधिकांश नागरिककको पेसा कृषि भए पनि बाहिरबाट तरकारी आयात भइरहेको समयमा आयात विस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाको बुझाइ छ ।

    गाउँपालिकाले यस अघि वडा वडामा मापदण्ड तोकेर व्यवसायिक कृषिमा लागेका किसानहरुबाट आवेदन माग गरेको थियो । आवेदन छानविन गरेर तोकिएको मापदण्डमा परेका किसानले मात्रै अनुदान पाएको गाउँपालिकाले जनाएको छ ।

    गाउँगाउँमा सडक पुगेपछि अत्यधिक उपभोग्य वस्तु आयात हुने तर रित्तै गाडी फर्किने अवस्थाले झन् गरिबीतर्फ धकेलिने भएकाले उत्पादन पनि निर्यात गर्न अत्यावश्यक रहेको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए । उनले भने, ‘रित्तै फर्किने गाडीमा यहाँका उत्पादन पठाउन सकियो भने मात्र सडक पुगेको औचित्य हुन्छ, यसतर्फ गाउँपालिकाले सोचिरहेको छ ।’ ४० लाख बढीका सामग्री तथा बिउ वितरण गरिएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस